नेपाली नयाँ वर्षको अवसरमा होटल संघ पोखराको आयोजनामा बुधबारदेखि पोखराको लेकसाइडमा १७ औं फेवा नव वर्ष महोत्सव शुरु भएको छ । महोत्सव बैशाख १ गतेसम्म संचालन हुने भएको छ । संघले यसअघि खुल्ला मैदानमा आयोजना गर्दै आएको महोत्सवलाई यस वर्ष भने रेवान पोखराकै शैलीमा सडकमा नै आयोजना गरेको छ ।
नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्धन गर्ने मुख्य उद्देश्यसहित पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर महोत्सव संचालन गरिएको आयोजकले जनाएको छ । महोत्सवको आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन गर्दै मन्त्री आलेले पोखराको दुई सम्पदा रत्न मन्दिर र हिमागृह आगामी बैशाख ३० गतेभित्र सर्वसाधारणका लागि खुला गर्ने प्रतिवद्धता जनाएका छन् । उनले पोखरामा ठूलठूला होटलहरु समेत संचालनमा ल्याउनुपर्नेमा जोड दिएका छन् । मन्त्री आलेले अब पोखरालाई पर्यटकीय राजधानीको रुपमा घोषणा गरिने पनि जानकारी दिएका छन् ।
महोत्सव उद्घाटन अघि लेकसाइडको खहरेचोक र ड्यामसाइड गरेर दुई ठाउँबाट एकैपटक झाँकीसहितको याली निकालिएको थियो । दुवैतर्फको याली लेकसाइडको मध्य क्षेत्र अम्बोटमा पुगरे उद्घाटन समारोहमा परिणत भएको थियो । संघले महोत्सवमा यस वर्ष निःशुल्क प्रवेशको व्यवस्था गरेको छ । महोत्सव सडकमा हुने भएकोले लेकसाइडका बाटोहरुमा दुई दिन सवारी आवतजावतमा रोक पनि लगाईएको छ । त्यस्तै महोत्सवको अवसरमा होटल संघले आफु मातहतका होटलहरुमा ३० प्रतिशत छुट दिइएको छ भने महोत्सव अवधीभरका लागि रात्रीकालिन बस तथा ट्रयाक्सीले सेवा दिने व्यवस्था समेत मिलाएको जनाएको छ ।