पोखरामा सर्वाधिक पुरस्कार राशीको प्रथम राष्ट्रिय भेट्रान नाइन ए साइड फुटबल प्रतियोगिताको आज उद्घाटन भएको छ । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा संचालित सो प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गरेका छन् । “दैनिक एक घण्टा व्यायाम” भन्ने नारा सहित नयाँ पिढीलाई खेलकुदमा सहभागिता गराउन उत्प्रेरित गर्ने र ज्येष्ठ खेलाडीहरुलाई खेलकुदमा सक्रिय रुपमा जोड्ने उद्देश्यसहित सो प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक दिल बहादुर गुरुङ्गले बताएका छन् ।
पोखरा रंगशालामा आजबाट जारी उक्त प्रतियोगिताको उद्घाटन खेलमा ४ खेलहरु सम्पन्न भएको छ । पहिलो खेल पोखराको बगर भाईखलक र वालिङ भेट्रान टिमबीच भएको थियो । उक्त खेलमा बगर भाईखलकले वालिङ भेट्रान टिमलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा भने लेकसाइड भेट्रान टिमले जित निकालेको छ । उसले पोखरा भेट्रानलाई १–० गोलले पराजित गर्न सफल भएको हो । यस्तै तेस्रो खेल गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ्गको कप्तानीमा खेलेको मनाङ मस्याङ्दी भेट्रान टिमले पनि जितेको छ । उसले पोखराको दिप युनाईटेडलाई ५–३ को गोल अन्तरले हराएको थियो ।
चौथो खेल भने सिमरा भेट्रान टिम र पोखराको संगम भेट्रानबीच रहेको थियो । तर प्रतियोगितामा सिमरा भेट्रान टिम उपस्थित नभएपछि पोखराको संगम भेट्रान अन्तिम आठमा प्रवेश गर्न सफल भएको छ ।
आजबाट शुरु भएको सो भेट्रान फुटबल प्रतियोगितामा पोखरा, वालिङ, काठ्माण्डौं, हेटौंडा लगायतका विभिन्न ठाउँका गरी १८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले नगद रु ३ लाख, उप–विजेताले नगद रु १ लाख ५० हजार प्राप्त गर्ने भएका छन् ।
त्यस्तै दुई सेमिफाईनालिष्ट टिमले नगद रु ३० हजार, सर्वोत्कृष्ठ खेलाडीले नगद रु २० हजारका साथै उत्कृष्ट पाँच विधाका खेलाडीहरुले नगद रु १५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार भोलि शनिबार ६ खेलहरु खेलाईने भएको छ ।