गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी लगायतका विषयमा भोलि राखेपको बोर्ड बैठक बस्दै छ । भोलि बस्ने बैठकमा राष्ट्रिय खेलकुद परिषद् राखेपका निलम्बित पाँच सदस्यहरुले आफुहरुलाई सो बैठकमा सहभागी गराउन युवा तथा खेलकुद मन्त्रीलाई निवेदन दिएका छन् । राखेप सदस्य सम्पन्न श्रेष्ंठ, सुभाष श्रेष्ठ, रेनुका श्रेष्ठ र रिम बहादुर रानाभाट गरी पाँच जनाले आज युवा तथा खेलकुद मन्त्रालयमा निवेदन दर्ता गराएका हुन् । सरकार परिवर्तनसंगै २०७८ मंसिर ३ गतेको मन्त्रीस्तरीय निर्णयबाट उनीहरुलाई निलम्बन गरिएको थियो । निलम्बन लगतै पाँचै सदस्यले उच्च अदालत पाटनमा मुद्धा दर्ता गराएका थिए ।
मुद्धा दर्ता लगतै अदालतले समेत २०७८ मंसिर ३ गतेको मन्त्रीस्तरीय निणर्य कार्यान्वयन नगर्न मंसिर ९ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । राखेपको भोलि शुक्रबार बस्ने बोर्ड बैठकमा आफुहरुलाई नबोलाएर अदालतको अवहेलना गरेको उनीहरुले बताएका छन् । निलम्बित गरिएका राखेप सदस्य सम्पन्न श्रेष्ठले आफुहरुको मुद्धाको टुङ्गो लगाउनका लागि यही बैशाख १४ गते पेशी तोकिएको र अदालतमा मुद्धा विचारधिन अवस्थामा रहँदा रहँदै पनि बोर्ड बैठक बोलाइएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।
राखेको यस कार्यले सरासर अदालतको अपहेलना गरेको र यसका विरुद्ध आफुहरुले पून एकपटक अदालतको ढोका ढक्ढकाउने पनि बताएका छन् ।
त्यस्तै उनले बोर्ड सदस्य नियुक्ति हुने वित्तिकै आफुहरुले पटक–पटक बैठक बोलाउन माग गरिरहेको र खेल क्षेत्र विकासका लागि गतिदिन आग्रह गरिरहेको भएपनि सरकार परिवर्तनसंगै राजनितिक प्रतिशोधका आधारमा कार्वाही गरिएको पनि जानकारी दिएका छन् ।