शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगद्धारा जानकारी
  • प्रमुख खबर

 

पोखरा ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगका प्रवक्ता सूर्य प्रसाद अर्यालले आज पत्रकार सम्मेलनमार्फत निर्वाचनको सबै तयारी पुरा भएको जानकारी दिएका हुन् ।
निर्वाचनलाई शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले गत चैत्र २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि शुरु भएको मौन अवधिका लागि थप कडाइ गरिएको छ ।
मौन अवधिमा आचारसंहिताको पालनाका लागि नियमित अनुगमन संयन्त्रले काम गरिरहेको प्रवक्ता अर्यालले बताएका छन् । उनले मौन अवधिमा भएका आचारसंहिता उल्लङ्घनका घटनामा विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालबाट समेत प्राप्त सूचनालाई आयोगले जानकारीमा लिएको बताएका छन् ।
उनका अनुसार अहिलेसम्म आचारसंहितासंग सम्बन्धित विषयमा ६६ वटा स्पष्टीकरण, ९ वटा सचेत र १ वटा ध्यानाकर्षणका निर्णय भएको छ । यस अवधिमा आफ्ना पक्षका उम्मेदवारलाई सामाजिक सञ्जालबाट मत मागेको विषयमा नेकपा एमालेका उप–सचिव पृथ्वी सुब्बा गुरुङ्ग र नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटि सदस्य गंगा दाहाललाई आचारसंहिता उल्लङ्घन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको विषयमा आयोगले बैशाख २८ गते २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा देशैभर गरेर १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरुबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताहरुले जम्मा ३५ हजार २ सय २१ जना मध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनौट गर्नका लागि मतदान हुदैछ ।
मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामाग्रीहरु सहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवकहरु आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् । स्थानीय तह निर्वाचनमा भाग लिने भन्दै दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेका छन् । ५५ हजार ६९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत गरेर १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्