पोखरा ।
सरिता गुरुङ्ग
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा हुन गईरहेको ७ औं संस्करण स्वरुपको वैदेशिक अध्ययन परामर्श सम्बन्धि वृहत शैक्षिक मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । सो शैक्षिक मेला यही अषाढ २४ र २५ गते पोखरा सभागृहमा हुने आज पोखरामा पत्रकार सम्मेलनको आयोाजना गरी जानकारी दिइएको छ ।
गण्डकी प्रदेशको सबैभन्दा ठुलो शैक्षिक मेला आयोजकको रुपमा स्थापित भैसकेको यस नेपाल शैक्षिक परामर्श संघ कास्कीले आयोजना गर्न गईरहेको यस मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा अमेरिका, बेलायत, अस्टे«लिया, न्युजिल्यान्ड, आयरल्यान्ड, जापान, नर्वे, फिनल्यान्ड, जर्मनी, डेन्मार्क, फ्रान्स, दक्षिण कोरिया, भारत लगायत देशका कलेज तथा विश्व विद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागिता रहने भएको छ ।
यस मेलामा प्रतिष्ठित शैक्षिक परामर्शदातृ संस्थाहरुका अनुभवी एवं तालिम प्राप्त परामर्श दाताहरुले करिब ४० स्टलबाट विभिन्न कलेज तथा विश्व विद्यालयको भर्ना प्रक्रिया साथै संवन्धित देशको विद्यार्थी भिषा निती, अवसर र चुनौती संबन्धित आधिकारिक तथा प्रभावकारी सुचना एवं परामर्श निःशुल्क रुपमा दिने भएका छन् ।
नेपाल शैक्षिक परामर्श संघ इक्यान कास्कीका कोषाध्यक्ष एवं मेला संयोजक युवराज पौडेले यस शैक्षिक मेला वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थी र उनीहरुका अभिभावकहरुका निम्ति निकै फलदायी र प्रभावकारी हुने बताएका छन् ।
उनले विशेषगरी यस मेलालाई शैक्षिक क्षेत्रमा भए गरेका परिवर्तन, विभिन्न देशका शिक्षा निति, रहनसहन, वातावरण, समाज संबन्धित कलेजहरु र विश्व विद्यालयमा लाग्ने शिक्षण शुल्क स्वास्थ्य बिमा, अध्यागमन शुल्क जस्ता विषयमा आधिकारीक जानकारी हासिल गर्ने उपयुक्त थलो हुने विश्वासको रुपमा आफुहरुले लिएको जानकारी दिएका छन् ।
मेला संयोजक पौडेले विश्व ग्लोबल भिलेजको रुपमा परिवर्तित भइरहेको यस वर्तमान परिवेशमा नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणाली र यसको भविष्यको बारेमा पर्याप्त सुचना प्रवाह गर्नु आफुहरुको कर्तव्य भएको बताएका छन् ।
उनले यसै कर्तव्यलाई ध्यानमा राख्दै स्वदेश तथा विदेश स्थित कलेज र विश्व विद्यालयहरुका साथै त्यहाँ प्राप्त हुनसक्ने छात्रवृत्ति सहुलियत, सुविधा र गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने कुरालाई आफुहरुले आफ्नो पेशागत दायित्वको रुपमा लिएको जानकारी पनि दिएका छन् ।
त्यस्तै इक्यान कास्कीका अध्यक्ष इविन्द्रराज तिवारीले हाल पोखरामा करिब ३ सयको हाराहारीमा शैक्षिक परामर्शका संस्थाहरु भएको र ती मध्ये ४२ वटा संस्थाहरुले भने यस संघको सदस्यता लिएको जानकारी दिएका छन् ।
उनले संघको सदस्यताका लागि संघले जारी गरेको कोड अफ कन्डक मान्ने कन्सलटेन्सीहरुलाई मात्र सदस्यता दिएको बताएका छन् ।उनले नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवं विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना र अवसरहरुको परामर्श लिन इक्यान शैक्षिक मेला उपयुक्त माध्यम भएको बताएका छन् ।
अध्यक्ष तिवारीले सबै कन्सल्टेन्सीले सबै देशका कलेजहरुको बारेमा जानकारी नगराउँने भन्दै ५÷७ दिन धाई लगाएर विभिन्न कन्सल्टेन्सी धाउनुभन्दा एकै छानामुनि ४० वटा स्टलबाट यस मेलामा विद्यार्थीहरुले केही समय निकालेर आफुहरुले चाहेको देश र कलेजहरुको बारेमा भरपूर जानकारी प्राप्त गरी फाइदा लिन सक्ने समेत बताएका छन् ।