काठ्माण्डौं ।
उपराष्ट्रपति नन्द बहादुर पुनले दशैंलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन सबैलाई आग्रह गरेका छन् । आज बडा दशैंको अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति पुनले दशैंले नेपालीहरुका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा अभिवृद्धि गर्दै देशलाई सम्बृद्ध बनाउन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
यस चाडले देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउने उल्लेख गर्दै उनले राष्ट्रको समुन्नति र सम्बृद्धिका लागि एकताबद्ध भएर अगाडी बढ्न सबै नेपालीलाई ऊर्जा प्रदान गरोस् भनी कामना पनि गरेका छन् ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष हाम्रो राष्ट्रमा मनाइने सबैखाले चाडपर्वले आपसी सद्भाव, सहिष्णुता, भाइचारा र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आएको जनाएका छन् ।
उपराष्ट्रपति पुनले बडा दशैं, शुभदिपावली, नेपाल संम्वत र छठ जस्ता महत्वपूर्ण पर्वको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै चाडपर्व लगतै सार्वभौम नेपाली जनताको महान उत्सवको रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागिता जनाउन र आफ्नो मताधिकारको प्रयोग गर्न सम्पूर्णमा आग्रह समेत गरेका छन् ।