काठ्माण्डौं ।
आगामी मंसिर ४ मा तय भएको निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन पाँच दलिय गठबन्धनको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । सिट बाँडफाँटका लागि दुई महिना देखि जारी प्रयासले आज अन्तिम रुप लिने नेताहरुले बताएका छन् ।
प्रतिनिधसभाका १ सय ६५ र प्रदेशसभाका ३ सय ३० वटै निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारी खडा गर्न पाँच दलबीच निरन्तर रुपमा छलफल भइरहेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही क्षेत्रमा दोहोरो दाबी भएकाले सहमति जुटाउन जटिल भइरहेको बताएका छन् ।
उनका अनुसार संघ र प्रदेश दुवैमा छलफल चलिरहेकोले धेरै कुरा व्यवस्थापन पनि भएको जानकारी दिएका छन् । तर केही जिल्लाका केही ठाउँमा कुरा मिलाउन बाँकी नै रहेको पनि उनले जनाएका छन् ।
यता जसपाले राष्ट्रिय पार्टी बन्नका लागि सबै क्षेत्रमा आफ्नो उपस्थिति हुनुपर्ने माग गरिरहेको पौडेलको भनाइ रहेको छ । जसपाको माग गठबन्धनभित्र अझै पनि सम्बोधन नभएकोले उसले गठबन्धन भन्दा बाहिर पनि तालमेलको विकल्प खोज्ने निर्णय गरेको छ ।