नवौं राष्ट्रिय खेलकुद ः खेलमध्ये सबैभन्दा लोकप्रिय खेल फुटबलमा समेत छैन दर्शक
  • प्रमुख खबर

पोखरा ।
सरिता गुरुङ्ग

नेपाली खेलकुदको क्षेत्रमा सबैभन्दा बृहत प्रतियोगिताका रुपमा हेरिने राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशले ३९ वर्षपछि आयोजना गर्ने शुभ अवसर प्राप्त गरेको छ ।

सो अनुरुप यस प्रदेशमा शुक्रबार मात्र पोखरा रंगशालामा नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा उप–राष्ट्रपति नन्द बहादुर पुनबाट समुद्घाटन भएको थियो ।

यस राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरुवात वि.सं.२०३८ सालमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का तत्कालीन सदस्य सचिव शरदचन्द्र शाहले गरेका थिए ।

पहिलो संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता काठ्माण्डौंमा २०३८ सालमा भएको थियो । त्यसपछि दोश्रो संस्करण २०४० मा पोखरामा, तेस्रो २०४२ मा विरगंजमा, चौथो २०५५ नेपालगंजमा, २०६५ पाँचौ संस्करण काठ्माण्डौंमा, धनगढी र महेन्द्रनगरमा २०६८ मा छैटौं, विराटनगरमा २०७३ मा आठौं र नवौं संस्करण अहिले पोखरामा भईरहेको छ ।

यस प्रतियोगिताका सुरुवाती ३ (पहिलो, दोश्रो र तेस्रो )संस्करण अञ्चलका आधारमा भएका थिए भने ४ (चौथो, पाँचौ, छैटौं, सातौं)संस्करण विकास क्षेत्रका आधारमा सम्पन्न भएका थिए ।

यस प्रतियोगिता आठौंमा प्रदेशका आधारमा सम्पन्न भएको थियो र अहिले पोखरामा भइरहेको नवौं संस्करण पनि यहि अनुरुप संचालन भइरहेको छ ।

यस प्रतियोगितामा सुरुवातिको समयबाट नै देशका विभिन्न ठाउँहरुबाट हजारौंको संख्यामा खेलाडीहरुको सहभागी हुँदै आईरहेको छ । यस नवौं संस्करणसम्म आईपुग्दा खेलाडीको संख्यामा केही वृद्धि त भएकै छ तर हेर्ने दर्शकको संख्यामा भने लगातार कमि भएको छ ।

अहिले गण्डकी प्रदेशका विभिन्न ८ जिल्लामा भईरहेका खेलहरुमा सहभागी जनाउन ७ प्रदेश, ३ विभागिय र १ गैर आवसिय नेपालीहरुको टोली गरि ११ टिमको सहभागिता रहेका छन् ।

विशेषगरी यस प्रदेशको राजधानी पोखरामा अधिकांश खेलहरु संचालन भईरहेका छन् । तर यस प्रतियोगितालाई हेर्ने दर्शकहरुको सहभागिता भने अत्यन्त न्यून रहेको छ ।

झण्डै ४ दशकपछि यस प्रदेशमा आयोजना भईरहेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई नजिकबाट नियाल्न यहाँका खेलप्रमीहरु, खेलसँग सम्बन्धीत संस्थाहरु, क्लब एंव पोखरेलीहरुको बाक्लो उपस्थिति हुनुपर्ने थियो । तर विडम्वना यहाँका सम्बन्धीत व्यक्तिहरु र पोखरेलीहरुको उपस्थिति भने एक्दम निराशजनक अवस्थामा रहेका छन् ।

विशेषगरी विभिन्न खेलहरु मध्य सबैभन्दा दर्शकहरुले रुचाउने खेल भनेकै फुटबल हो । तर पोखरा रंगशाला स्थिति फुटबल खेल मैदानमा शनिबार भएको पुरुष फटबलतर्फको गण्डकी प्रदेश र प्रदेश १ को खेलमा भने दर्शकको उपस्थिति एक्दमै न्यून रहेको थियो ।

आज शनिबार बिदाको दिन र सँगसँगै घरेलु टोली गण्डकी प्रदेशको खेल थियो तर यस प्रतियोगितालाई हेर्ने दर्शकको उपस्थिति भने लगभग सून्य जस्तै थियो । किनकी १६ हजार ५ सय दर्शक क्षमताको नवनिर्मित पोखरा रंगशाला र त्यसैमाथी पनि ३९ वर्षपछि राष्ट्रिय प्रतियोगिता अर्थात खेल जगतका लागी कुम्भ मेला तर दर्शकको संख्या भने मुस्कीलले ३ सय हुनु भनेको खेल क्षेत्रको लागि विडम्बना हो ।

प्रतियोगिताको तयारीको क्रममा आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप)ले प्रदेश खेलकुद परिषद, गण्डकी प्रदेशसँग केही आंशिक रुपमा समन्वय गरेर विभिन्न चरणमा प्रदेश र स्थानीय सरकारसँग यस प्रतियोगितालाई भव्य र सफल बनाउन छलफलहरु नचलाएको भने होइन । तर प्रदेश र स्थानीय सरकारले यस राष्ट्रिय प्रतियोगितालाई भव्य बनाउन प्रतिवद्धता जनाएपनि खासै जोड नदिएको देखिएको छ ।

त्यस्तै आयोजक राखेप, प्रदेश र स्थानीय सरकारकोे प्रभावकारी समन्वय र तालमेल पनि नभएको देखिएको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङले यस प्रतियोगिता तयारीका क्रममा आयोजना भएका पत्रकार सम्मेलनहरुमा कुनैपनि ठाउँमा आयोजना हुने वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता त्यस ठाँउका लागि गर्वको विषय हुनुपर्ने बताएका थिए ।

तर अहिले सुन्दर नगरी पोखरामा संचालन भईरहेको यस नवौं संस्करणको खेलमा भने प्रदेश, स्थानीय र राखेपबीचको असम्झदारी र समन्वयमा देखिएको कमिका कारण खेल मैदानमा उत्रिएका खेलाडीहरुलाई हौसला दिने दर्शक नहुँदा यस प्रतियोगिताको रौनकतामा कमि आएको छ ।

विशेषगरी केन्द्र सरकारको आयोजना, केन्द्रमा भईरहेका आन्तरिक किचलोका कारण र प्रदेश सरकारलाई बाईपास गर्ने कार्य भएकाले नै यहाँका पोखरेलीबासीहरुले प्रतियोगितालाई वृहत रुपमा सफल बनाउन सहयोग नगरेको यहाँका खेलकुदका केही पदाधिकारीहरु तथा सम्बन्धी व्यक्तिहरुको गुनासो रहेका छन् ।

यस नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा हिजो शुक्रबार उद्घाटन भएतापनि यस प्रतियोगिता अन्तर्गतका केही खेलहरु आश्विन २३ गतेबाट नै सुरु भएको थियो । यस राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ वटा खेलहरु समावेश रहेका छन् ।

उक्त ३६ खेलका ७ हजार १ सय ५७ खेलाडीहरुले ४०४ स्वर्ण र १३८६ पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता कात्तिक ३ गतेसम्म संचालन हुने भएका छन् । त्यस्तै यस प्रतियोगिता सम्पन्न गर्नका लागि केन्द्र सरकारले ६० करोड रुपैँया छुट्टाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्