पोखरा ।।
मंगलबारसम्ममा प्याराग्लाइडिङका इभेन्टको छिनोफानो भइसक्थे । प्याराग्लाइडिङका पाइलटहरु, यो क्षेत्रका विज्ञहरु र खेलमै सहभागी अन्य खेलाडीहरु नै स्विकार्थे, “निसिम पदकका दाबेदार हुन ।”
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा आबद्ध भएर त्यतिबेलै निसिमले आफ्नो क्षमता देखाउँदै रजत जितेका थिए । उनले त्यतिबेला रजत मात्र जितेनन, स्वर्णको लागि सम्भावनाको ढोका खुलै छ भनेर आफ्नो कौसलद्वारा त्यसलाई प्रमाणित पनि गरे । हावाको वेगसँग पाँैठेजोरी खेल्दै पदक जित्नु पक्कै सानो कुरा होइन । ती अनेकन संघर्षसँग पछिल्लो दशकयता लगातार पोखराको आकाशमा जुधिरहेका निसिमको जीवनमा अब मंगलबार आउनेछैन ।
अन्यथा सोमबार बिहान पनि उनी सराङकोट तिरै हुन्थे वा उडान भरेर फेवा किनारमा सुस्ताइरहेका हुन्थे । तर, आज उनले सराङकोटबाट उडान भरेनन, न फेवा किनारको प्याराग्लाइडिङ ल्याण्ड गर्ने समथर भूभागमा नै थिए । उनी बिहानसम्म पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पोष्टमार्टम भवनमा थिए, त्यसपछि बौद्ध अर्घौँ सदन अनि रामघाट । उनलाई ल्याइएको सवारी मालाले ढाकिएको थियो, त्यसमा एउटा ठुलो फ्लेक्समा मुस्काइरहेका निसिमको तस्बिर थियो । अनि लेखिएको थियो, “हार्दिक श्रद्धाञ्जली, जन्म ः २०५१÷३÷२०, स्वर्गारोहण ः २०७९÷६÷३० ।”
मुस्काइरहेको फ्लेक्स बोकेको गाडीमा कहिल्यै नउठ्ने गरि सुस्ताइरहेको एउटा शव थियो । तस्बिरमा जस्तो मुस्कान थिएन । गाडीमा सवार एक व्यक्तिले उनै निसिमको रंगीन तस्बिर बोकेका थिए । फुंग उडेको अनुहार लिएर रंगीन तस्बिर बोक्ने अरु कोही थिएनन, थिए त निसिमका आफ्नै बुवा प्रकाश थापा । गाडीको पछाडि थिए, आर्मीका अधिकारीहरुको लस्कर, खेलकदुका पदाधिकारीको सहभागिता, पोखराका मेयर देखि राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी, खेलप्रेमी अनि आफन्तको रोदन र क्रन्दन ।
आमा सावित्री मोक्तानको बिलौना आइतबारदेखि उस्तै छ । बौद्ध अर्घौँ सदनमा लामाले मृत्युसंस्कार पाठ पढ्दै गर्दा छोरालाई चुम्न पुगेकी मोक्तानले भगवानलाई पुकार्दै थिइन, “तिमीले मेरो प्रार्थना एक सेकेन्ड सुनेनौ, तिमीले सुन्नुपथ्र्यो ..।” आमाबाबुको रोदन, क्रन्दनमा उनै निसिम थिए । जो उनीहरुका एक्ला सन्तान थिए । मुटुको टुक्रा थिए । त्यही भएर त उनीहरु छियाछिया हुन पुगे ।
निसिम अब रहेनन ।
जति चोट आमाबाबुलाई प¥यो देशलाई पनि उत्तिकै होनहार खेलाडीको खति भयो । निसिम अब हावामा उड्ने छैनन ।
संस्कार अनुसार पूजा सकिएपछि निसिमलाई त्यही अर्घौँ सदनमा रहेको विद्युतीय शवदाह गृहमा लगियो । नीर्जिव उनको शरीको अस्तित्व खरान भयो । उनको अन्तेष्टिमा नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टरका पृतनापति बाबुराम श्रेष्ठ, आफन्त, पोखराका मेयर धनराज आचार्य, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, प्रदेश खेलकुदका पदाधिकारी, खेलाडीहरुले श्रद्धाञ्जली दिएका थिए ।