गठबन्धनका उम्मेदवार कसैलाई पनि हार्न छुट छैन : शुक्रराज शर्मा
  • प्रमुख खबर

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धनका उम्मेदवार कसैलाई पनि हार्न छुट नभएको बताएका छन् । बुधबार पोखरा नयाँबजारमा कास्की क्षेत्र नम्बर–२ को निर्वाचन सम्पर्क कार्यालयको उदघाटन गर्दै शर्माले यस्तो बताएका हुन् ।
‘हाम्रो यो गठबन्धन पाँच दलीय गठबन्धन हो । एक्लै चुनाव लडेर हिजो माओवादीले पनि जितेको थियो, काँग्रेसले पनि जितेको थियो । २०७४ सालको निर्वाचन पश्चात एमालेमा केपी ओली र माधव नेपाल एकठाउँमा हुन सक्नुभएन । माधव नेपाल छुटेर आउनुभयो । त्यसकारण संविधानको रक्षाका लागि हामी सबै मिलेर गठबन्धन गरेका हौं । चुनाव हार्ने कोहि कसैलाई छुट छैन ।’पाँच वटा पार्टी मिल्दा पनि चुनाव हारियो भने जनताले धिकार्ने अभिव्यक्ति उनको थियो । शर्माले संविधानको रक्षाका लागि, देशको समृद्धिका लागि, सुशासनमैत्री व्यवस्थाका लागि गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन मतदातालाई आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले विकास र संबृद्धिका लागि गठबन्धन निर्माण भएको बताए ।
कास्कीका जनताको आवश्यकता र भावना अनुरुपको काम गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताए । जनताको पक्षमा कानुन निर्माण गर्न र विकास निर्माणका कुरालाई संगसंगै अगाडि बढाउने कुरामा आफू दृढसंकल्पित भएर काम गर्ने प्रतिबद्धता उनको थियो । आफूले कास्कीका जनताको भावना जनतासंग सुखदुखमा संगै रहेर गहिरोगरी बुझेको भन्दै उनले कास्कीका जनताको केन्द्रीय प्रतिनिधि भएर निरन्तर काम गर्ने धारणा राखे ।
गठबन्धनको तर्फबाट कांग्रेसबाट कास्की २ (ख) मा प्रदेश सभासदस्य पदमा उम्मेदवारी दिएका गण्डकीका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशको नामकरण, राजधानी तोक्ने लगायतका काम भएको बताए । उनले अव विकास र समृद्धिका लागि आफूहरुले काम गर्ने धारणा राखे । उनले स्पष्ट एजेण्डाका साथ गठबन्धन आएको भन्दै सबैले एकतावद्ध भएर गठबन्धनलाई जिताउनु पर्ने बताए ।
गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कास्की २ (क) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्थामा परिवर्तन नआएकाले अवस्था परिवर्तनका लागि गठबन्धन बनेको बताए । गठबन्धन सरकार निर्माण र निर्वाचन जित्नका लागि मात्र नभएको भन्दै उनले यसले स्थिर सरकार समेत दिने धारणा राखे । उनले जनताले लडेर ल्याएको व्यवस्था नै असुरक्षित हुने अवस्था आएपछि गठबन्धन गरेर अगाडि बढ्नु परेको उल्लेख गरे । कार्यक्रममा नेपाली काँग्रेसका नेता देवराज चालिसेले एउटा व्यक्तिलाई हिरो बनाउने काम राजनीतिमा गर्न नहुने बताए । ‘ओलीको विरुद्धमा गठबन्धन गरेको जस्तो भान जनतालाई नहोस् । के कामको लागि चुनाव लड्दै छु । गठबन्धन सरकार के का लागि हो भन्ने विचार प्रस्तुत हुन आवश्यक छ ।’, उनले भने । देश बनाउन इच्छा शक्तिको आवश्यकता रहेको अभिव्यक्ति उनको थियो ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ क्षेत्रीय समिति सभापति एवं निर्वाचन परिचालन समिति सभापति केशर निर्दोशीको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य चुडामणि जंगली, माओवादी केन्द्रका जिल्ला समन्वय कमिटी अध्यक्ष बखानसिंह गुरुङ र एकीकृत समाजवादीका समानुपातिक तर्फका उम्मेदवार रत्ना गुरुङ र नेपाल समाजावादीका नेता भिमबहादुर थापा सहित गठबन्धन सम्बद्ध दलका नेताहरुले बोलेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्