पोखरा ।।
नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न भएको छ ।
३९ वर्ष पछि पोखरा फर्किएको राष्ट्रिय खेलकुद नेपाली खेलकुदको लागि नयाँ जग स्थापित गर्दै सम्पन्न भएको हो । नवौं राष्ट्रिय सकिए संगै दशौं राष्ट्रिय खेलकुद कर्णालीमा हुने भएको छ । हरेक दुई वर्षमा आयोजना हुने राष्ट्रिय खेलकुद अनेक वाधा अडचन पार गर्दै अन्योलका विच सम्पन्न भएको छ ।
असोज २८ देखि कार्तिक ३ गते सम्म भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल र ८ प्रदर्शनी भए । नवौं राष्ट्रियमा देशका उच्चपदस्थ व्यक्तित्व उपराष्ट्रपति देखि प्रधानमन्त्री सम्मलाई रंगशालामा डो¥याएको छ । राजनितिक रुपले कति सफल वा असफल भन्ने चर्चा अवका केही दिनमा हुनेछ तर खेलाडीहरुको प्रदर्शन अपेक्षाकृत रुपमा सफल भएको छ । नयाँ रेकर्डहरु स्थापित भएका छन् । यूवा खेलाडीहरुलाई खेलकुदको मार्गमा हिँडाउन नवौं सफल भएको छ ।
यद्यपी नवौं राष्ट्रिय केन्द्रिकृत मानशिकताबाट टाढा हुन भने हुन सकेन । गायक देखि बाउन्सर सम्म, सियो र धागो देखि कागज सम्म, साउण्ड सिष्टम देखि आयोजक र कर्मचारी सम्म सबै राजधानीबाट आयातित थिए । ति सबै रेडिमेड थिए । उनीहरुलाई पोखराको परिवेशमा धुमलिन समय लाग्यो । जसका कारण राष्ट्रिय प्रतियोगिताको उद्घाटन देखि समापन सम्म सोचे जस्तो हुन सकेन । एक जना दर्शक प्रश्न गर्दै थिए–“लाखौं खर्च गरिएको माइक सिष्टम कस्तो हो ?” खेलकुदको महाकुम्भमा खेलकुदको मनोरञ्जन लिन आएका दर्शकहरु लामो लामो पट्यार लाग्दो भाषणले पनि दर्शक दिक्क बने ।
नवौं राष्ट्रिय खेलकुदले भने एउटा कुरालाई उजगार गरेको मात्रै छैन वहशको विषय समेत बनाएको छ । संघिय संरचनामा गएको राज्यमा केन्द्रको हालिमुहाली किन ? एउटा प्रमुख प्रश्न छ भने अर्को जनताको करबाट तलव थापेर राज्यको सुविधा प्राप्त परिवेशमा खेलेका खेलाडी र भोको पेटमा संघर्षरत खेलाडीको तुलना हुन सक्दैन । सबैको एउटै आवाज छ–“अबको राष्ट्रिय प्रतियोगिता प्रदेश–प्रदेशका विच हुनु पर्छ र विडिङका आधारमा उनीहरुले प्रस्तुत गरेको योजनाका आधारमा प्रदेशलाई आयोजना गर्ने मौका दिइनु पर्छ ।”
राष्ट्रिय प्रतियोगिता भन्ने वित्तिकै खेलकुदका नयाँ सुविधा सम्पन्न पूर्वाधारहरुको निर्माण हुन्छ भन्ने कुरा पहिलो शर्त हुने गर्छ । तर नवौं राष्ट्रियमा त्यो अनुभुती गण्डकी प्रदेशले गर्न पाएन । न त आयोजकले बनाएका उपसमितिमा गण्डकी प्रदेशले त्यो अनुभुती गर्न पायो न त समग्र आयोजनामा नै । न खेल पूर्वाद्धार निर्माण भए नत मर्मत नै । मर्मतका लागि पनि स्थानिय सरकारलाई राखेपले गुहा¥यो । पुरानो खेल सामाग्रीमा खेल हुँदा खेलाडी घाइते बने । उनीहरुको खेल जिवनको भविष्य संग जोडिएको खेल सामाग्रीले खेलाडीहरुलाई पूर्न नसकिने नमिठो घाउ छोडेर गयो नवौं राष्ट्रिय खेलकुद ।
लामो समय देखि प्रतियोगिता आयोजना नभएर प्रशिक्षण समेत नभएका घरमा नै सुतेर थन्किएका निर्णायकहरुको गलत निर्णयहरु नवौं राष्ट्रियमा छताछुल्ल भयो । उनीहरु खेल खेलाउन भन्दा पनि पोखरा शयर गर्न र पिउन मस्त बने । जसका कारण केही खेलको निर्णयहरु विवादित बन्न पुगे । निर्णायकहरुको दक्षता मापन गर्ने कुनै संयन्त्र थिएन । उनीहरुले २०–३० वर्ष अघिको उही परम्परागत ढाँचामा आफूले सिकेको र जानेको भरमा प्रतियोगिताको निर्णायक बनेर राखेपको भत्ता पचाए । जसका कारण यूवा खेलाडीहरुको भविष्य समेत अन्धकारमा धकेले ।
दशौं राष्ट्रिय प्रतियोगिता आयोजना गर्न कर्णाली झण्डा बोकेको छ । नवौं राष्ट्रियको जस्तै हुने हो पूर्वाद्धार नवन्ने हो र राष्ट्रिय खेलकुदको नाममा खेल खेलाउन राजधानी नै धाउनु पर्ने हो भने कर्णाली अहिले बाट नै हात उठाउँदा राम्रो हुन्छ । राष्ट्रिय खेलकुदका नाममा हुने गलत परिपाटी र पम्परालाई कर्णाली तोड्न आवश्यक छ । राष्ट्रिय खेलकुदबाट त्यस्तो खेलाडी उत्पादन होस जसले ओलम्पिकमा नेपाली खेलप्रेमीहरुले देखेको सपना पुरा गर्न सफल बनोस । गण्डकीमा सम्पन्न भएको जस्तो कर्मकाण्डी नवनोस ॥