पोखरामा वित्तीय आतंक विरुद्ध राष्ट्र बैंक घेर्ने होटल संघको चेतावनी
  • प्रमुख खबर

पोखरा, ४
होटल संघ पोखरा नेपालले बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपमा बढाएको ब्याजदर एक अंकमा झार्ने पहल नगरेमा नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालय विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएको छन् । पर्यटन व्यवसाय कोभिड १९ को महामारीबाट नकारात्मक रुपमा प्रभावित भएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी रुपमा ब्याजदर बढाए पनि राष्ट्र बैंक र सम्बन्धित मन्त्रालय चुप लागेर बसेको भन्दै संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएको हो ।

कार्यक्रममा संघका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड १९ को संक्रमण केही मत्थर हुँदै गर्दा पर्यटन व्यवसाय लयमा फर्कने प्रयासमा रहे पनि होटल क्षेत्रको २०–२५ प्रतिशत अकुेन्सीले संचालन खर्च पनि धान्न सक्ने अवस्था नभएको बताए । आम्दानी पनि नभएको र पर्यटक आगमनदर पनि अपेक्षित बढ्न नसकेको अवस्थामा होटल क्षेत्र अहिले बैंकले प्रदान गरेको कर्जाको सावाँ तथा ब्याज तिर्न सक्ने अवस्थामा नरहेको उनले बताए ।बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज सात प्रतिशतबाट १५ प्रतिशत हुँदै २० प्रतिशत नाघ्ने अवस्था रहेको भन्दै अध्यक्ष सुवेदीले बैंक तथा वित्तीय संस्थाले ४० प्रतिशत सम्म लाभांस बाँड्दा घाटामा रहेको होटल क्षेत्रलाई भने तर्साउने काम भएको दुःखेसो पोखे ।

होटल संघ पोखरा नेपालका सल्लाहकार वच्चुराम तिवारीले देशमा महंगी व्यापक हुँदा पनि होटल क्षेत्रले आफ्नो दरको ५० प्रतिशत मूल्य पनि लिन नसक्ने अवस्था रहेको बताए । उनले बैंकको लगानी अनुत्पादक क्षेत्र गएको र विदेश पुँजी पलायत भएको बताए । व्यवसायी बैंकर हुँदा पनि समस्या उत्पन्न भएको बताउँदै उनले बैंकलाई आधुनिक सामन्त भएको बताए । सो अवसरमा होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले अहिले व्यवसायीहरु अफ्ठ्यारो अवस्थामा पनि मर्यादित र संयमित भएर बसेको तर आफ्ना मागहरु संवोधन नभए आफूहरु राष्ट्र बैंक र मन्त्रालय विरुद्ध आन्दोलन गर्न तयार रहेको बताए ।

होटल संघ गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले बैंक तथा वित्तीय संस्थाले अस्वभाविक रुपमा ब्याजदर बढाउनु सबै नेपालीको समस्या भएको बताए । संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले कोभिडको समयमा सरकारले नै दुई वर्ष पर्यटन क्षेत्र बन्द गराएको बताउँदै अहिले एकतर्फी ब्याज बढाएर वित्तीय आतंक सिर्जना गरिएको आरोप लगाए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्