गठबन्धनतर्फका उम्मेदवार लामिछानेद्धारा जित हार जे भएपनि जनताको सेवा गर्ने प्रतिबद्धता
  • प्रमुख खबर

पोखरा ।

आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर २ (१) का उम्मेदवार विश्वप्रकाश लामिछानेले अब आफुले यस क्षेत्रका जनताको सेवा गर्ने जिम्मेवारी आएको बताएका छन् ।

जीवनका ४० वर्ष समाजसेवामै बिताएको प्रसंग निकाल्दै लामिछानेले निर्वाचनमा जित वा हार जे भएपनि अब यस क्षेत्रको विकास र यस क्षेत्रका जनताको सेवा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताएका हुन् ।

कास्की २ (१) अन्तरगत पर्ने पोखरा महानगरपालिका ३३ को देउराली हुडिकोट, पौवाटोल, आपु भन्ज्याङ्ग लगायतका स्थानमा निर्वाचन अभियान सञ्चालनका क्रममा लामिछानेले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले आफ्ना योजना भनेका आफ्ना मात्रै नभई ५ दलका भएको जिकीर समेत व्यक्त गरेका छन् । यस क्षेत्रमा स्वास्थ्य शिक्षा लगायतको क्षेत्रमा समस्या रहेको बताउँदै लामिछानेले स्वास्थ्य र शिक्षामा सुधार गर्दै यस क्षेत्रलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

पोखरा– ३३ भनेर यस क्षेत्रलाई महानगरपालिकामा मिसाएपनि यहाँका जनताले महानगरको अनुभव गर्न नपाएको भन्दै उनले अब काम गर्दा पोखराको ग्रामीण क्षेत्रको विकास गर्न पहल गर्ने वचन पनि दिएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्