कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार बरालद्धारा कास्कीकोटको खानेपानी समस्यामा ध्यान दिने प्रतिबद्धता
  • प्रमुख खबर

पोखरा ।

नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले गुण्टीचौरदेखि वडा कार्यालयसम्म जाने बाटो अझै पनि धुलाम्य अवस्थामै रहनु विडम्वना भएको बताएका छन् ।

पोखरा महानगरपालिका वडा नं. २४ मा शनिबार घरदैलो गरेपछि गुण्टेचौरमा आयोजित कोणसभामा उनले यस्तो बताएका हुन् । विगतमा नेताहरुले आश्वासन दिएर पनि कार्य पूरा नगरेको उल्लेख गर्दै उनले धूलाम्य सडकको आफूले छिट्टै अन्त्य गर्ने स्पष्ट पारेका छन् ।
उनले महानगरपालिका भित्रको सडकको अवस्था अझै पनि यस्तो रहिरहँदा आफुलाई निकै दुःख लागेको बताएका छन् । निर्वाचन जिताएर सेवा गर्ने मौका यस क्षेत्रका जनताले दिएको खण्डमा छिट्टै यसको अन्त्य उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै उनले कास्कीकोटमा पानीको समस्या पनि निकै विकराल रहेको उल्लेख गर्दै महानगरवासीले पाउनुपर्ने न्यूनतम सुविधा पाउनुपर्नेमा जोड दिएका छन् ।

बरालले यस क्षेत्रमा पानीकै कारणले धेरै कुरामा समस्या भएकोले लिफ्टिङ प्रविधिमार्फत कास्कीकोटवासीलाई पानी ल्याउन प्रयास गर्ने पनि बताएका छन् ।

२०४८ सालदेखि नेताहरुले आश्वासन मात्र दिने गरेको भन्दै उनले जनताले ‘जुन जोगी आएपनि कानै चिरेको’ भन्न थालेको बताएका छन् । तर उनले आफूले जिम्मेवारी पाएपछि जनताले यस्तो उखान भन्न नपर्ने स्पष्ट पारेका छन् ।

त्यस्तै बरालले कास्कीकोटमा कृषक, शिक्षा, स्वास्थ्य, बेरोजगारीका साथै युवाका समस्यालाई आफूले विशेष ध्यान दिने प्रतिबद्धता समेत जनाएका छन् ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्