सरिता गुरुङ्ग
पोखरा ।
आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा राजनैतिक दल र उम्मेदवारको मुल्यांकन मतदाताले गर्नुपर्ने कास्की क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार महादेव गुरुङ्गले बताएका छन् । पोखरा–३३, ठूलढुङ्गामा आज भएको घरदैलो तथा जनता भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका गुरुङ्गले पछिल्लो समय पार्टीको सिद्धान्तलाई नेता र नेतृत्व तहमा बसेकाहरुले लत्याउने कार्य गरेकाले आफु यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको निम्ति उम्मेदवारीको रुपमा खडा भएको बताएका छन् । उनले आफु एक सच्चा कांग्रेस भएको र कास्की क्षेत्र नं. २ मा कांग्रेसको उम्मेदवार आफु मात्रै भएको जनाएका छन् ।
गुरुङ्गले घरदैलो तथा जनता भेटघाट कार्यक्रमका दौरान प्राविधिक कारणले गर्दा आफ्नो चुनाव चिन्ह पुतली हुन पुगेतापनि आफु एक सच्चा कांग्रेस भएको स्पष्ट पारेका छन् । उनले राजनीति भनेको विचार भएको, मूल्य मान्यता भएको तर अहिले यसका मूल्य, मान्यता र आदर्शहरु मारिएको स्पष्ट पारेका छन् ।
विशेषगरी पछिल्लो समय नेपालको राजनीतिलाई हेर्ने हो भने यसलाई केही नेता र व्यक्तिहरुले पेसा र ठगी खाने भाँडो बनाएको बताएका छन् । उनले आफुले यो कुनै एक पार्टी वा दललाई मात्र नभनिकन सबैमा त्यही रोग भएको जनाकारी दिएका छन् ।
पछिल्ला दिनहरुमा कांग्रेस पनि अन्य दलहरु जस्तै त्यसैमा रमाउन थालेको र वर्तमान नेतृत्वले कांग्रेसलाई सत्ताको सौदाबाजीमा सीमित बनाएको बताएका छन् ।
केही व्यक्ति र नेताहरुको स्वार्थपुर्तिका लागि नेतृत्व तहमा रहेका नेताहरुले विचार–सिद्धान्त फरक हुदाँ–हुँदै पनि वामपन्थी कम्युनिष्ट र प्रजातन्त्रवादी कांग्रेसबीच गठबन्धन गरेर स्वार्थ साँध्ने र प्रजातन्त्रलाई नै सिध्याउँने कार्य गरेको समेत जनाएका छन् ।
राजनीतिक रुपमा कांग्रेसले आफ्नो सिद्धान्त, मूल्य, मान्यता र आदर्श सबैलाई बिर्सिएर कांग्रेस नेतृत्व भ्रष्टीकरण भएकोपनि जनाए । उनले विगत देखि वर्तमान परिस्थितिसम्म आर्ईपुग्दा आफु सधै भ्रष्टचार र अनियमितताको विरोधमा निरन्तर संघर्ष गर्दै आएको हुनाले आफ्नो उम्मेदवारीलाई कांग्रेस शुद्धिकरणको पवित्र अभियानको रुपमा बुझि निर्वाचनमा सहयोग गर्न आग्रह समेत गरेका छन् ।
त्यस्तै गुरुङ्गले सो घरदैलो कार्यक्रममा विकासको शुरुवात र संघर्ष सम्झदै अधिकांश ठाउँमा मोटर बाटोको गोरेटो आफुले बनाएको तर हल्लनचोक पामे घाँटिछिनाको बाटो खन्दा धेरै संघर्ष गर्नु परेको स्मरण गर्दै त्यस समय आफु विरुद्ध थुप्रै पार्टीका नेता तथा कार्यकता पछि लागेको दःखद कुरा समेत जनतासामु राखेका छन् ।
त्यस बेला गिरिजा प्रसाद कोइरालालेसमेत आफुलाई महादेव त्यो बाटो खन्ने काम नगर भनेर बताएको स्मरण पनि गरेका छन् । तर जो सुकैले जे भनेपनि आफ्नो साथमा त्यस समय जनता भएको र जनतालाई त्यस बाटोको आवश्यकता भएको हुनाले साथ दिएकाले कार्य सम्पादन गरेरै छाडेको पनि बताएका छन् ।
विशेषगरी गुरुङ्गले नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र बनाउने, भ्रष्टचारलाई अन्त्य गर्ने र पोखरालाई पर्यटन उद्योग विकासका माध्यमबाट आर्थिक उन्नतिको दिशामा अगाडी बढाउने प्रतिबद्धता व्यक्त समेत गरेका छन् ।