महादेव गुरुङ वि.सं. २०११ मा कास्कीको पोखरामा जन्मनु भएको हो । साबिकको भदौरे तामागी गा.वि.स. कुद्बिडाँडामा बाबू श्रीभक्त गुरुङ र आमा गंगा गुरुङका ६ सन्तान मध्येका कान्छाे सन्तानका रूपमा जन्मनु भएको हो । मध्यम वर्गीय परिवारमा जन्मे पनि पैसा नै सब थोक हो भन्ने सोच गुरुङमा कहिल्यै आएन । सेवा नै धर्म हो भन्ने संस्कार आफ्नो आमाबाट लिएको गुरुङले बताउनु भयो ।
डेढ वर्षको हुँदा बुवाको देहावसान भयो । बाबुको मायाको आभास कहिल्यै गर्न नपाए पनि आमाले त्यो मायामा कमि हुन दिनु भएन । आमाले दुखगरि शिक्षामा जोड दिनु भयो । बि.ए सम्मको औपचारिक शिक्षा हाँसिल गर्नुभएका गुरुङले राजनीतिलाई संधै सेवाको रुपमा लिनुभयो । गुरुङलाई स्वच्छ छवि भएको नेताका रुपमा जनताले चिन्ने गर्छन ।
गुरुङको राजनितिक जीवनका घटनाक्रम
बि.सं. २०२५ सालमा विद्यार्थी जीवनबाट नेपाली काँग्रेसको राजनितिमा प्रवेश गर्नुभयो । त्यति बेला आफैलाई शिक्षा दिने निलकण्ठ गुरुबाट प्रभावित भएको गुरुङले बताउनु भयो । बि.सं. २०२६ मा बराही मा वि को छात्रसंघको सभापतिमा निर्वाचित हुनुभयो । बि.सं. २०३७ मा विद्यार्थी आन्दोलनमा सक्रिय रहि महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो । बि.सं. २०४६ मा पन्चायतको विरुद्धमा संयुक्त जनआन्दोलन घोषणासंगै गुरुङलाई प्रहरीले पक्राउ गरि जेल चलान गर्यो । केही समय पोखरा जेलमा राखी लम्जुङ सार्यो । बहुदलको ब्यवस्था घोषणा भए लगत्तै गुरुङलाई प्रहरीले रिहाई गर्यो ।
बि.सं. २०४८ मा प्रतिनिधि सभाका लागि कास्की क्षेत्र नं. ३ बाट उम्मेदवारी दिनुभयो । मतदानको दिनमा मतदान गरि पोखरा फर्कदा सृजना चोकमा एमाले कार्यकर्ताबाट सांघातिक आक्रमण भयो । पोखरामा उपचार हुन नसके पछि गिरिजाप्रसाद कोइरालाले काठमाडौ टिचिङ हस्पिटलमा उपचारको ब्यवस्था मिलाउनु भयो । गुरुङको मतदानकेन्द्रमा रेपोलिङ भएको र परिणाम आफ्नो पक्षमा नभएको कुरा गुरुङले अस्पतालको बेडमा सुन्नुभयो ।
बि.सं. २०४९ को स्थानीय निर्वाचन पछि गुरुङ कास्की जिल्ला विकास समितिको सभापतिमा निर्वाचित हुनुभयो । सभापतिमा रहँदा कास्कीमा अधिकांश ठाउँमा सडकबाटोको सुरु गर्नुभयो । त्यो बेला हङकङमा जन्मिएका मानिसले जन्मस्थान हङकङ राखी नागरिकता बनाए आइडी पाउने ब्यवस्था थियो । तर सि.डि.यो.ले नागरिकता बनाउँदा भ्रष्टाचार गरेको थाहा पाएपछीगुरुङले सम्बन्धित निकाय र गृहमन्त्रालयसम्म उजुरी गर्नुभयो । कार्वाही नभए पछि आफैले कार्वाही गर्नुभयो । त्यो समय उहाँलाई सिडियो पिट्ने सभापति सम्म भन्थे ।
सभापतिमा रहँदा अर्को चर्चाको बिषय हल्लनचोक-पामे-घाटिछिना सडक बन्यो । यो सडक निमार्ण सुरुवात गरे संगै आफ्नै पार्टीले र अन्य पार्टी नै लागेर रोक्ने प्रयास गरे । महादेवले फेवाताल पुर्न लाग्यो भन्ने कुरा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला समक्ष पुर्याउने र कार्य असफल बनाउने प्रयास भएको थियो । गिरिजा प्रसाद कोइरालाले गुरुङलाई फोन गरेर बाटो निमार्ण कार्य रोक्न लगाउनुभएको थियो । तर गुरुङले सधै सत्य र जनताको हितमा हुने काम कुनै हालतमा नरोक्ने भनी उक्त सडक निर्माण कार्यलाई निरन्तरता दिनुभयो ।तत्पश्चात महादेबले कसैको दबाव नमान्ने र जनताको नेताको रुपमा चिनिन थाल्नुभयो ।
बि.सं. २०५६ मा पार्टिले उहाँलाई कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । सोही समय पर्यटन राज्री मन्त्री पनि हुनुभयो तर त्यो समय माओवादी आन्दोलनले गर्दा जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभयो । बि.सं.२०६४ को आम निर्वाचनमा पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले कास्कीको कुनै एक क्षेत्रमा उठ्न भन्नू भयो तर गुरुङले फरक मत राखी उम्मेदवार बन्नुभएन ।
बि.स.२०७० पार्टीबाट दवाब परेपछी कास्की क्षेत्र नं. ३ बाट को प्रतिनिधि सभा सदस्य उम्मेदवारी दिनुभयो ।
नेपाली कांग्रेस भित्र बढ्दो गुटबन्दी,काँग्रेसको बिचार र सिद्धान्तको बारेमा सचेत गुरुङ संधै पार्टीमा फरक मत राख्ने गर्नुहुन्थ्यो ।
गुरुङले अहिले कास्की क्षेत्र न.२ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । पार्टिले गठबन्धनका नाममा पार्टीको सिद्धान्तलाई वेवास्था गरेको र काँग्रेसको आफ्नो उम्मेदवार नभएकोले उम्मेदवारी दिएको गुरुङले बताउनु भयो । आफू रुख चिन्ह लिएर चुनावमा जान नपाए पनि आफू काँग्रेसको उम्मेदवार भएको भएको, बिपिको सिद्धान्त निरन्तर हिडिरहेको बताउनुभयो ।