२० औं संस्करणको “समृद्धि स्टिल्स् औद्योगिक व्यापार मेला” को सम्पूर्ण तयारी पूरा
  • प्रमुख खबर

सरिता गुरुङ्ग

पोखरामा आयोजना हुने २० औं संस्करणको “समृद्धि स्टिल्स् औद्योगिक व्यापार मेला” को सम्पूर्ण तयारी पुरा भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी र पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा यो मेला संचालन हुने भएको छ ।

मंसिर १६ देखि २५ गतेसम्म पोखराको नयाँ बजार स्थित प्रर्दशनी केन्द्रमा संचालन हुने यस मेलाको सम्पूर्ण तयारी पूरा भएको बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि जानकारी दिइएको छ । पत्रकार भेटघाट कार्यक्रममा बाल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष एंव मेला संयोजक पवनकुमार प्रजापतिले मेलाले समग्र गण्डकी प्रदेशको उद्योग व्यवसायलाई प्रवद्धधन गर्नुका साथै बजारीकरण गर्न सहयोग पुग्ने बताएका छन् ।

यस व्यापार मेलामा करिब २ सय ५० वटा विभिन्न व्यापारिक स्टलहरु रहने संघका अध्यक्ष प्रजापतिले जानकारी दिएका छन् । नेपालकै प्रतिष्ठित व्यवसायिक घराना लक्ष्मी हाउसको मुख्य प्रायोजन एंव नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा लगानीको सम्वद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नारासहित यस व्यापारिक मेला हुन लागेको हो ।

मेला अन्तर्गत हस्तकला, कृषि, पुष्प, अटोमेला, सूचना तथा प्रविधिको प्रदर्शनी तथा दैनिक उपभोग्य वस्तुहरुको विक्रि वितरण गरिने समेत बताइएको छ । त्यस्तै मेला अवधिभर उद्यमशीलता सम्बन्धी सेमिनार पनि संचालन हुने अध्यक्ष प्रजापतिले जानकारी दिएका छन् ।

उनका अुनसार पोखराको पर्यटनको भावी गन्तव्य, महिला उद्यमशीलता विकासका अवसर र चुनौती, पोखराको पूर्वधार लगायतका विषयमा पनि विभिन्न विज्ञहरुसँग अन्तक्रिया गरिने समेत बताएका छन् । मेला प्रवेशका लागि सर्वसाधारणको लागि १ सय र विद्यार्थीका लागि ६० रुपैयाँ कायम गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार मेलाबाट अनुमानित आम्दानी १ करोडको र खर्च ८५ लाख हुने जानकारी दिइएको छ । कुल आम्दानी रकमबाट सम्पूर्ण खर्च कटाएर बाँकी रहने १५ लाख रुपैयाँलाई उद्यमशीलता प्रवद्धधन एंव व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागी खर्च गरिने संघका कोषाध्यक्ष दिनेशचन्द्र बास्तोलाले जानकारी दिएका छन् ।

मेलाको उद्घाटन गण्डकी प्रदेशका बहाल संचार, कानुन तथा प्रदेशसभा मामिला मन्त्री तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विन्दु कुमार थापाले गर्ने आयोजकले जनाएको छ ।

संघको वार्षिक नियमित कार्यक्रमको रुपमा रहेको यस राष्ट्रिय औद्योगिक व्यापार मेलाका दुई संस्करण भने कोरोनाका कारण आयोजना हुन सकेनन् । पछिल्लो समय कोरोनाको त्रास हटेसँगै संघले यस मेलालाई निरन्तरा दिन लागेको हो ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्