सरिता गुरुङ्ग
पोखरा ।
निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन, प्याब्सन, कास्कीको आयोजनामा हुने जिल्लाव्यापी प्याब्सन स्पोर्टस मिटको सम्पूर्ण तयारी पुरा भएको छ । पोखरामा आज पत्रकार सम्मेलनको आयोजना गरी भोलिबाट सुरु हुने १७ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको सम्पूर्ण तयारी पूरा भएको प्याब्सन कास्कीले जनाएको हो ।
अनौपचारिक रुपमा भालिदेखि खेलहरु संचालन हुने भएतापनि औपचारिक उद्घाटन मंसिर २५ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेले गर्ने कार्यक्रम तय भएको प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले जानकारी दिएका छन् ।
प्याब्सनले आफ्नो स्थापना कालदेखि नै “स्वास्थ मस्तिष्कका लागि खेलकुद” भन्ने नारासहित खेलकुदको विकास गर्ने उद्देश्यले प्रतेक दुई वर्षको अन्तरालमा प्याब्सन स्पोर्टस मिट आयोजना गर्दै आएको छ ।
अध्यक्ष पौडेलका अनुसार यस स्पोर्टस मिट अन्तर्गत कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुबीच छात्र सिनियर र जुनियर फुटबल, छात्र तथा छात्रा भलिबल, टेबल टेनिस र एथेलेटिक्सका खेलहरु संचालन हुने बताएका छन् । यस स्पोर्टस मिट अन्र्तगत कक्षा ११ र १२ का विद्यार्थीहरुका बिच छात्र तथा छात्रा भलिबल, बास्केटबल, दौड प्रतियोगिताका इभेन्टहरु समेत हुने जनाएका छन् ।
यस प्रतियोगिता अन्तर्गत हुने जुनियर फुटबलतर्फ ५६ टिम, सिनियर पुटबलतर्फ ६९, भलिबल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेबुल टेनिस सिंगल छात्रतर्फ ४१, छात्रातर्फ १९, टेबुल टेनिस छात्र डबल्सतर्फ ३९ र छात्रातर्फ १६ टिम सहभागि हुने भएका छन् । त्यस्तै एथेलेटिक्स अन्र्तगत छात्रतर्फ ६५ र छात्रातर्फ ५३ विद्यालयहरुको सहभागिता रहने छ ।
यस्तै कक्षा ११ र १२ को भलिबल छात्रतर्फ १६, छात्रातर्फ ८ र बास्केटबलतर्फ छात्रतर्फ १७ र छात्रातर्फ ६ विद्यालयहरुको सहभागिता हुने आयोजकले जनाएको छ । अध्यक्ष पौडेलका अनुसार प्याब्सन कास्कीका दर्ता भएका १ सय २ विद्यालयहरुमध्ये यस स्पोर्टस मिटमा ९५ वटा विद्यालयहरुका ७ हजार ७ सय १२ जना विद्यार्थीहरुले प्रत्यक्ष रुपमा प्रतिस्पर्धा गर्ने बताएका छन् ।
यस्तै यस प्रतियोगितामा दैनिक ११ हजारभन्दा बढी विद्यार्थी, अभिभावक र अन्य दर्शकहरुले विभिन्न विधाका खेलहरु अवलोकन गर्ने समेत उनले बताएका छन् ।
त्यस्तै अध्यक्ष पौडेलले प्याब्सन कास्कीले आयोजना गर्दै आएको यस खेलकुद प्रतियोगिताले विगतदेखि नै प्याब्सन कास्कीको मात्र नभएर सिङ्गो कास्की जिल्लाको खेलकुद क्षेत्र र खेल विकासमा विशेष महत्व राख्दै राष्ट्रिय खेलाडीहरु उत्पादनमा आधारको रुपमा महत्वपूर्ण योग्दान गर्दै आएको पनि बताए । उनले यस स्पोर्टस मिट सम्पन्न गर्न करिब ५० लाख खर्च लाग्ने बताउँदै समुद्घाटन समारोहमा ५० वटा विद्यालयका विद्यार्थीहरुले मार्च पास गर्ने जानकारी समेत दिएका छन् ।