होटल रानीबन आर्केड तथा क्वीन फरेष्ट रेष्ट्रो बारले नेपाल देशः ७ प्रदेश पकवान मेला २०७९ आयोजना गर्ने भएको छ ।रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा आयोजित २४ औं सडक महोत्सव तथा होटलको ४५ औं वार्षिकोत्सवको अवसरमा पकवान मेला गर्न लागेको हो ।
२०७९ पौष ८ देखि शुरु हुने यस कार्यक्रमको प्रमुख नारा नेपाली खाना, जिवन शैली र संस्कृतिको विश्वव्यापीकरण तथा आलि देखि थाली सम्म रहेको छ। परम्परागत रैथाने खाना र बालीको जगेर्ना गर्नु कार्यक्रमको मुल उदेश्य भएको होटलका अध्यक्ष भिमसेन भुजेलले बताउनु भयो ।
१० दिनसम्म सन्चालन हुने कार्यक्रममा सात प्रदेशका खानाका फरक परिकार हुनेछन् । प्रदेश नम्बर एक बाट धुवाँदार पोर्क, स्याटा पोर्क, सेकुवा लगायतका धराने कालो बंगुरको पाख्रीवास परिकार, मधेस प्रदेशको तावा फिस, माछा जनकपुरे राजा, तरुवा माछासंग आमादी अचार लगायतका माछाका परिकार रहने छ । यस्तै बागमती प्रदेशबाट छोइला, कवाव, कचिला, किमा अण्डा, गुच्चा मोमोचा नेवारी खानामा राँगाको परिकार , गण्डकी प्रदेशबाट हिमाली भेगको च्याङ्ग्राको रक्तिको पकौडा, रैथाने बाली फापर र हाँसको अण्डाबाट बनेको खानाको परिकार, लुम्बिनी प्रदेशबाट सुन्तला साँधेको, चाकु लगायतका फलफूल र शाकाहारी परिकार, कर्णाली प्रदेशबाट हाँस, घोङ्गी, चामलको पिठोबाट बन्ने भख्खा लगायत थारु जातिको खानाको परिकार रहनेछ भने सुदुरपश्चिम प्रदेशको लोकल खसी पोलेको, खसिको कवाव र लोकल कुखुराको परिकार पस्किइने जनाइएको छ । आन्तरीक तथा बाह्य पर्यटकलाई ७ वटै प्रदेशको खाना एकै थलोमा चाख्न पाउने कार्यक्रमले व्यवस्था गर्दछ भने पर्यटकहरूको माग रहे यो कार्यक्रम निरन्तर गर्ने होटलका प्रबन्ध निर्देशक हरि बहादुर भुजेल बताउनुभयो ।
पाकशास्त्री सन्जीव खत्रीले यस कार्यक्रम मार्फत The Voice of Nepali Chefs नामक संस्थाले गरेका कार्य तथा नेपाली खानाको परिकार विश्वव्यापी रुपमा फैलाउन प्रयास गरेको जनाउनु भयो ।सन् १९७० को दशक देखि आतिथ्य तथा पर्यटन क्षेत्रमा सेवा प्रदान गर्दै आएको होटल रानीबन आर्केड तथा क्वीन फरेष्ट रेष्ट्रो बारले पर्यटकलाई नेपाली खाना र संस्कृति पस्कदै आईरहेको छ ।