पोखरा ।
प्रथम गण्डकी प्रदेशस्तरिय पुरुष भलिबल प्रतियोगिताको सेमीफाइनलमा पुग्ने टिमको टुङ्गो लागेको छ ।गण्डकी प्रदेश भलिबल संघद्धारा आयोजित उक्त प्रतियोगितामा सेमीफाइनलमा पुग्ने टिमको टुङ्गो लागेको हो ।
प्रतियोगितामा सहभागि ९ जिल्ला मध्ये समुह क बाट स्याङजा कुल ८ अंकका सथा विजेता बन्दै अन्तिम चारमा स्थान बनाएको छ भने सोही समुहबाट उपविजेता बन्दै ६ अंकका साथ कास्की अन्तिम चारमा स्थान बनाएको प्रदेश भलिबल संघका महासचिब टहल सिंह थापा मगरले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
गत पौष ६ गतेबाट जारी प्रतियोगितामा स्याङजाले कास्की, गोरखा र तनहुँलाई पराजित गर्दै ८ अंक प्राप्त गरेको थियो भने समुहमा उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाएको कास्कीले गोरखा र तनहुँलाई पराजित गरे पनि स्याङजा संग हार व्यहोर्दै ६ अंक प्राप्त गरेको थियो । गोरखा र तनहुँ भने खेलबाट बाहिरिएका छन् ।
यस्तै समुह ख तर्फ बागलुङ र नवलपुर एक खेल खेल्न बाँकी हुँदा नै सेमीफाइनलमा स्थान बनाएका छन् । बागलुङ र नवलपुर विच लिगतर्फ अझै एक खेल खेल्न बाँकी रहेको छ । उनीहरु विचको खेल शनिबार बिहान हुने तय भएको महासचिव थापा मगरले बताए ।
बागलुङले लिगतर्फको खेलमा म्याग्दी, पर्वत र लमजुङलाई पराजित गर्दै ९ अंकका साथ समुहको शिर्ष स्थानमा रहेको छ भने नवलपुरले म्याग्दी, पर्वत र लमजुङलाई पराजित गर्दै ८ अंकका साथ समुहको दोश्रो स्थान पक्का गरेको छ ।
उक्त समुहको शिर्षस्थानको छिनोफानो भने बागलुङ र नवलपुर विचको लिगको अन्तिम खेलबाट टुङ्गो लाग्ने छ ।जारी प्रतियोगितामा पर्वत ७ अंक प्राप्त गर्दै खेलबाट बाहिरिन पुगेको छ । आज सम्पन्न नवलपुर संगको खेलमा पराजित हुँदा दुई खेलमा जित र दुई खेलमा हार व्यर्होदै खेलबाट बाहिरिएको हो ।
प्रतियोगितामा उपाधि विजेताले नगद २ लाख, उपविजेताले नगद १ लाख, तृतियले ५० हजार तथा चौथो हुनेले नगद २५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गर्ने छन् । यसै गरी प्रतियोगितामा सर्वोत्कृष्ट हुने एक जना खेलाडीले नगद २० हजारका साथमा ट्रफी र मेडल प्रदान गरिनेछ ।
त्यसै गरी उत्कृष्ट विभिन्न पाँच विद्या उत्कृष्ट सेटर, उत्कृष्ट लिव्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचलाई जनही नगद १०–१० हजार प्रदान गरिने छ ।
नेपाल भलिबल संघ र कास्की जिल्ला भलिबल संघको व्यवस्थापन, प्रदेश खेलकुद परिषद गण्डकीको समन्वय सञ्चालन भइरहेको उक्त प्रतियोगिताबाट बचत रकमबाट महिला भलिबल खेलाडीको उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने अध्यक्ष नविन कुमार गुरुङले बताए ।
यसै गरी आगामी पुष २४ गतेबाट सुरु हुने एनभिए कप राष्ट्रिय भलिबल प्रतियोगिता र माघ ८ गतेबाट सञ्चालन हुने टाइगर कप भलिबल प्रतियोगिताका लागि समेत खेलाडी छनौट गरिने छ ।
कुल ३१ लाख १० हजार खर्च हुने उक्त प्रतियोगिताका लागि आयोजकले जिल्ला भलिबल संघलाई तयारी खर्च स्वरुप नगद ५० हजार प्रदान गर्ने आयोजकले जनाएको छ । पौष १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा कास्की, स्याङजा, तनहुँ, गोरखा, लमजुङ, नवलपुर, म्याग्दी, बागलुङ र पर्वतको सहभागिता रहेको छ ।