सरिता गुरुङ्ग
पोखरा ।
पोखरा रंगशालामा आज स्पेनीस क्लब काथेरेन्यो र टिम गण्डकी ११ बीच ऐतिहासिक मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । उक्त मैत्रीपूर्ण खेलमा काथेरेन्योले टिम गण्डकी ११ लाई ३–० गोलले पराजित गरेको छ ।
लुम्बिनी फाउन्डेशनको आयोजना र कास्की जिल्ला फुटबल संघको सहकार्यमा भएको यस मैत्रीपूर्ण खेलमा स्पेनको बी डिभिजनको क्लब काथेरेन्योले उत्कृष्ट खेल प्रर्दशन गर्दै गण्डकी ११ पराजित गर्न सफल भएको हो । स्पेनीयस क्लब काथेरेन्योको जितमा कार्मीलो, बेरमु र स्पेनका पूर्व राष्ट्रिय खेलाडी मिचेलले गोल गरेका थिए ।
यता अनिल गुरुङ्गको कप्तानीमा मैदानमा उत्रीएका टिम गण्डकी ११ का खेलाडीहरुले पनि राम्रै खेल प्रर्दशन गरेका थिए । शुरुवातदेखि नै रक्षात्मक खेल खेलेको गण्डकी ११ ले राम्रै खेल प्रर्दशन गर्दा–गर्दै पनि गोल भने गर्न सकेन ।
उक्त मैत्रीपूर्ण खेल समापन भएलगतै काथेरेन्यो क्लबका प्रशिक्षक जुलियो कोभोसले आज भएको खेलमा दुबै टिमले निकै राम्रो खेल प्रस्तुत गरेको बताउँदै पुनः अवसर पाएको खण्डमा नेपाल आउने इच्छा भएको बताएका छन् ।
त्यस्तै गण्डकी ११ का प्रशिक्षक राजेन्द्र तामाङ्गले स्पेन जस्तो देश जहाँ फटबलका चर्चित क्लबहरु छन् त्यस्तो देशको पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय र यूरोपियन च्याम्पियन खेल खेलिसकेका खेलाडीहरुसँग छोटो समयमा नै तयार भएको आफुहरुको टिमले सन्तोषजनक खेल प्रर्दशन गरेको बताएका छन् ।
यस मैत्रीपूर्ण खेलमा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ्ग (दिपक मनाङे) पनि गण्डकी ११ को टिमबाट मैदानमा उत्रिएका थिए । मन्त्री गुरुङ्ग डिफेन्डरको जिम्मेवारी सम्हाल्दै खेलको दोस्रो हाफमा मैदानमा प्रवेश गरेका थिए ।
“गौतम बुद्ध जन्मेको हाम्रो देश नेपालबाट शान्तिका लागि फुटबल” भन्ने नाराका साथ आज पोखरामा सफलताका सम्पन्न भएसँगै भोलि विहिबार काठ्माण्डौं ११ सँग पनि स्पेनको सो क्लबले मैत्रीपूर्ण खेल खेल्ने आयोजकले जनाएको छ ।
यस मैत्रीपूर्ण फुटबल खेल खेल्न नेपालमा नै पहिलो पटक स्पेनको बि डिभिजनको क्लब आफ्नो ५५ जनाको जम्बो टोलीसहित हिजो पोखरा आइपुगेका थिए ।
लुम्बिनी गार्डेन फाउन्डेशनका अध्यक्ष जोसे म्यानुयलले बुद्धको जन्म भुमि नेपालमा आएर फुटबल खेल्दै खेलको माध्यमबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्न पाउँदा खुशी लागेको बताएका छन् ।
अध्यक्ष म्यानुयलका अनुसार यस मैत्रीपूर्ण खेललाई संसारका अन्य देशहरु चाईना, हंङकङ, म्यानमार, थाईल्याण्ड, भियतनाम लगायतका विभिन्न देशहरुमा पनि आयोजना गर्ने जानकारी समेत दिएका छन् ।