पोखरा ।।
गण्डकी प्रदेश सभा सदस्यहरुले पद तथा गोपनीयताको शपत ग्रहण गरेका छन् । गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले विहीबार पोखराको नदिपुर स्थित प्रदेशसभाको हलमा प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् ।
उनले ५९ सांसदहरुलाई शपथ गराएका हुन् । जसअन्र्तगत ५७ जनाले नेपाली भाषा र ३ जनाले आफ्नो मातृभाषामा शपथ ग्रहण गरेका छन् ।
पर्वतको प्रदेश सभा २ बाट निर्वाचित भएका बस्यालले भने बुधबार नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गबाट शपथ ग्रहण गरेका थिए । ६० सदस्यीय गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ ३६ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित २४ जना सांसदहरु रहेका छन् ।
सांसदमा ५ दलको सहभागिता रहने भएको छ । प्रदेश सभामा प्रत्यक्षमा १८ र समानुपातिकमा ९ गरि २७ सिट ल्याएको नेपाली कांग्रेस संसद्मा सबैभन्दा ठूलो दलको बनेको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० गरि २२ सिटसहित दोस्रो ठूलो दलको स्थानमा रहेको छ भने माओवादी केन्द्रको प्रत्यक्षमा ५ र समानुपातिकमा ३ गरि ८ सिट सहित तेस्रो दल बनेको छ ।यता, समानुपातिक प्रणालीबाट २ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट चुनाव जितको राजीव गुरुङ्ग दिपक मनाङे पनि संसद्मा प्रवेश गरेका छन् । मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेसँगै यस पार्टीबाट समेत १ सिटमा उपस्थिति जनाउने भएको छ । सांसदहरुको शपथ ग्रहणलगतै प्रदेश प्रमुख गुरुङ्गले पौष १८ गतेका लागि संसद्को पहिलो बैठक बोलाएका छन् ।