पोखरा ।।
उच्च अदालत पोखराले प्रदेश खेलकुद परिषद गण्डकीको सदस्य सचिबको नियुक्ति प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेको छ । सदस्य सचिवको नियुक्ति प्रक्रिया रोक्न आभाष जंग शाहीले दर्ता गराएको मुद्धामा अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
उच्च अदालतका न्यायधिश ऋषी भण्डारीको एकल इजालशले मिति २०७९ पौष ६ गते सदस्य सचिव नियुक्तिका लागि प्रकाशित सूचनामा उल्लेख भए अनुसारको पदपुर्ती कार्य नर्गनु नगराउनु भन्दै यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशलाई आदेश समेत दिएको छ । अदालतले पौष २१ गते पुनः छलफलका लागि बोलाएको अन्तरिम आदेशमा उल्लेख गरिएको छ भने सो बारे १५ दिन भित्र लिखित जवाफ पेश गर्न मुख्य न्यायधिवक्ताको कार्यालयलाई समेत आदेश दिएको छ ।
निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदी, अधिवक्ताद्वय मदन प्रसाद तिवारी र सविन तिवारीले बहश गरेका थिए । यस अघि नेपाल खेलकुद महासंघ गण्डकीले समेत मंगलबार यूवा तथा खेलकुद मन्त्रालयमा नियुक्ति प्रक्रिया रोक्न ज्ञापन पत्र बुझाएको थियो ।