आहा ! रारा गोल्डकपका सर्वाधिक विजेता नेपाल पुलिस क्लब चर्च ब्वाइजसँग पराजित
  • प्रमुख खबर

सरिता गुरुङ्ग
पोखरा ।

पोखरामा जारी २२ औं संस्करणको आहा ! रारा गोल्डकपमा आज चर्च ब्वाइज यूनाइटेड क्लब र नेपाल पुलिस क्लबबीच रोमाञ्चक खेल भएको छ । उक्त खेलमा चर्च ब्वाइजले नेपाल पुलिसलाई २–१ को गोल अन्तरले हराएको छ ।

चर्च ब्वाइजले यस आहा ! रारा गोल्डकपको सर्वाधिक विजेता पुलिसलाई पराजय गरेसँगै क्वाटरफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले अन्जन विष्ट र अनन्त तामाङ्गको गोलमा जित हासिल गर्न सफल भएको हो । अन्जन विष्ट केही दिनअघि मात्र मनाङमस्याङ्दी क्लब छोडेर चर्च ब्वाईजमा अनुबन्धित भएका थिए ।

यता, पुलिसका लागि रवि शंकर पासवानले १ गोल गरेका छन् । पुलिसले खेलको शुरुवातबाट नै निकै आक्रमक र उत्कृष्ट प्रदर्शन गरेतापनि जित भने हासिल गर्न सकेन ।

चर्च ब्वाइजसँग पराजित भएसँगै पुलिसका सहायक प्रशिक्षक रविन श्रेष्ठले खेलाडीहरुले निकै राम्रो खेल प्रदर्शन गर्दा–गर्दै पनि आफुहरुले जित हासिल गर्न नसकेको बाताएका छन् ।

नेपाल पुलिसलाई पराजित गरेसँगै अब हुने क्वाटरफाइनल खेलमा चर्च ब्वाइजले मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ । आज भएको खेलको म्यान अफ द म्याच भने चर्च ब्वाइजका अन्जन विष्ट हुन सफल भएका छन् ।

सहारा क्लबद्धारा आयोजित यस प्रतियोगिता अन्र्तगत भोलि शनिबार हुने खेलमा डिफेन्डिङ च्याम्पियन शसस्त्र प्रहरीको एपिएफ र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्