सरिता गु्रुङ्ग
पोखरा ।
पोखरामा निर्मित अन्तराष्ट्रिय विमानस्थलको भव्य रुपमा उद्घाटन हुने भएको छ । यही पौष १७ गते अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” द्धारा उक्त विमानस्थलको समुद्घाटन हुने भएको हो ।
यस विमानस्थल उद्घाटन भएसँगै पोखरेली जनताले ५ दशक अगाडीबाट देख्दै आएको सपना साकार हुने भएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको यस विमानस्थलको समुद्घाटन समारोहमा अर्थ मन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शिर्ष नेताहरु, उद्योग तथा पर्यटन व्यवसायीहरुको सहभागिता रहने विमानस्थलका निर्देशक विक्रम गौतमले जानकारी दिएका छन् ।
उनले यस विमानस्थल उद्घाटन कार्यक्रमलाई भव्य बनाउन पोखरा महानगरले अपनत्व लिएकोमा खुशी व्यक्त गरेका छन् । निर्देशक गौतमका अनुसार यस पोखरा अन्र्तराष्ट्रिय विमानस्थल पोखराको मात्र नभएर देशकै लागि गौरवको विषय भएको बताउँदै यस विमानस्थलले समुन्नतिको ढोका खोल्ने पनि बताएका छन् ।
उनले यस विमानस्थलमा विभिन्न वायुुुसेवा कम्पनीले अन्र्तराष्ट्रिय उडानका लागि चासो दिइरहेको समेत जानकारी दिएका छन् । उनका अनुसार यस विमानस्थलबाट तत्काल अन्र्तराष्ट्रिय उडान नभएपनि केही समयपछि भने अवश्य अन्र्तराष्ट्रिय उडान हुने बताउँदै त्यसका लागि सम्पूर्ण पोखरेली जनतालाई ढुक्क हुन आग्रह गरेका छन् ।
नेपालको निजि विमान संचालक कम्पनी बुद्ध एयरले विमानस्थल उद्घाटनका दिन भारतको बनारसम्म उडानका लागि देशभित्र सबै प्रक्रिया पूरा गरेतापनि भारतबाट अनुमति प्राप्त नभएकाले पहिलो दिन अन्र्तराष्ट्रिय उडान नहुने भएको गौतमले बताए ।
अन्र्तराष्ट्रिय उडान शुरु हुने बित्तिकै दैनिक १८ घण्टासम्म विमानस्थल सञ्चालनको लक्ष्य राखिएको उनले बताए । विशेषगरी आफुहरु सन् २०२३ फेब्रुअरीदेखि दैनिक १८ घण्टासम्म यो संचालन गर्न सकिने कुरामा विश्वस्त भएको जनाएका छन् ।
यस विमानस्थल समुद्घाटन कार्यक्रमलाई भव्य बनाउनको निम्ति पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को समन्वयमा विभिन्न जातजातिका मौलिक झाँकी अभिन्दन कार्यक्रम, विभिन्न सांस्कृतिक प्रस्तुतिसहित सेलिबे्रसन गरिने भएको छ ।
भोलिको यस उद्घाटन समारोहमा विमानस्थलका परिकल्पनाकार शङ्करराज पाठकलाई रथारोहणसहित अभिनन्दन गरिने भएको छ । उनीसँगै तत्कालिन प्लानर पदम बहादुर क्षेत्रीलाई पनि अभिनन्दन गर्ने कार्यक्रम रहेको थियो तर उनी स्वास्थ्य उपचारको लागि देश बाहिर छन् ।
यस पोखरा अन्र्तराष्ट्रिय विमानस्थल उद्घाटनको सम्पूर्ण व्यवस्थापन भने पोखरा महानगरपालिकाले गरेको हो । उक्त समारोहमा जनसहभागिता गराइने महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिएका छन् । प्रमुख आचार्यले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा यस विमानस्थल कोसेढुङ्गा साबित हुने भएकाले भव्य उद्घाटनको सन्देश विश्वभर पु¥र्याउनु आवश्यक भएको बताएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकारणले जनवरी १ देखि विमानस्थल सञ्चालन गर्ने घोषणा गर्दा सबैभन्दा चुनौतीको विषय पोखराको फोहोर व्यवस्थापन गर्ने स्थल ल्याण्डफिल्ड साइड थियो । ल्याण्डफिल्ड साइड विमानस्थल भन्दा २ कि.मी. टाढा भएको हुदाँ त्यसको व्यवस्थापन नगर्दासम्म उक्त फोहोरमा आउने चराका कारण दुर्घटना निम्तन सक्ने भन्दै प्राधिकरणले हटाउन आग्रह गरेको थियो ।
महानगरले पुरानो ल्याण्डफिल्ड साइडमा फोहोर फाल्न छाडेको र अहिले वडा नं.३२ को लामेआहालमा अस्थायी रुपमा फोहोर फाल्न थालेको छ । त्यस्तै फोहोर व्यवस्थापनका लागि दीर्घकालीन रुपमा पोखरा–३३ पुँडिटारमा प्रशोधन केन्द्र बनाउन लागेको महानगर प्रमुख धनराज आर्चायले जानकारी दिएका छन् ।
दीर्घकालीन रुपमा प्रशोधन केन्द्र बनाउन कम्तीमा ६ महिना लाग्ने र यसका लागि ४ देखि ५ वटा कम्पनीको प्रस्ताव आएको र ती प्रस्ताव आएका कम्पनीमध्ये जसको सबैभन्दा राम्रो प्रस्ताव आउँछ त्यसलाई नै कार्यान्वयनमा लैजाने समेत उनले बताएका छन् ।
त्यस्तै यस विमानस्थलको उद्घाटनको अवसरमा पोखरा महानगरमा सार्वजनिक विदा पनि दिइएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीले जारी गरेको विज्ञप्तीमा आइतबार महानगरपालिका कार्यालयसहित महाशाखा, शाखा, वडा कार्यालय तथा महानगरभित्रका विद्यालय एंव शैक्षिक संघ–संस्थासमेत बन्द हुने उल्लेख गरिएको छ ।
यो विमानस्थल मित्र राष्ट्र चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । सो रकममध्ये २५ प्रतिशत रकमको ब्याज नलाग्ने र बाँकीको ७५ प्रतिशतको वार्षिक दुई प्रतिशतले ब्याज भुक्तानी गर्नुपर्ने पोखरा अन्र्तराष्ट्रिय विमानस्थल प्राधिकारणले जनाएको छ ।
वि.सं.२०२३ मा यस विमानस्थलका लागि भनेर पहिलोपटक ३ हजार १ सय रोपनी जमिन अधिग्रहण गरिएको थियो । जमिन अधिग्रहण गरेको करिब ४ दशकपछि मात्र यसको निर्माण प्रक्रिया शुरु भई अहिले सम्पन्न भएर संचालनमा ल्याउन लागिएको हो । यस विमानस्थलको जम्मा रन वे भने २ हजार ५ सय मिटर लामो रहेको छ ।