पोखरा ।। पोखरामा मिटर प्रणालीमा नचलेका ट्याक्सी कारबाहीमा परेका छन् । एक महिनाको अवधिमा ९५ ट्याक्सीलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले जानकारी दिए ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले भदौ १ गतेदखि पोखरा उपत्यकामा अनिवार्य मिटरमा चल्नु पर्ने नियम कार्यान्यनमा ल्याएका थियो । मिटर प्रणाली लागु भएपछि ट्याक्सीको कडाइका साथ अनुगमन भएको निरीषक पाठकले बताए । यो अवधिमा जरिवानाबाट ९८ हजार रुपैयाँ राजस्व उठेको बताए ।
मिटरमा नगुड्ने ट्याक्सीलाई सवारी ऐनअन्तर्गत कारबाही गर्ने गरिएको उनले बताए । मिटरमा हिँड्न अटेर गर्ने ट्याक्सी चालकले न्यूनतम २ हजार १ सयदेखि बढीमा ५ हजार ५ सयसम्म जरिवाना तिरेका हुन् ।
ट्याक्सीले मनपरी भाडा लिएर यात्रु ठग्ने गरेको जनगुनासो आए पछि मन्त्रालयले मिटर प्रणाली लागु गर्न पहल लिएको थियो ।