कार्तिक १०,काठमाडौँ।।
देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति भने देशभर आंशिक बदली हुने सम्भावना छ ।
बुधबार देशभर सामान्यतया बदली रहनेछ । हिमाली भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ । बुधबार राति हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ । साथै कोशी र बागमती प्रदेशका पहाडी भूभाग, मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, बिहीबार मौसम थप सक्रिय हुने देखिएको छ । देशभर सामान्यतया बदली रहने र कोशी, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ । त्यस्तै, लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।महाशाखाले मौसममा हुने परिवर्तनलाई ध्यान दिँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।








