सरिता गुरुङ्ग
पोखरा
अंग्रेजी नयाँ वर्ष २०२३ को शुरुवातसँगै आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य रुपमा उद्घाटन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आज एक समारोहकाबीच अन्तर्राष्ट्रिय विमानस्थलमा निर्मित स्तम्भको अनावरण गर्दै औपचारिक रुपमा विमानस्थलको समुद्घाटन गरेका हुन् ।
देशकै प्रमुख पर्यटकीय गन्तव्य स्थलमा निर्माण भएको यो विमानस्थललाई अन्तराष्ट्रिय बजारमा शुभारम्भ भएको सन्देश दिन जनवरी १ मा नै उद्घाटन गरिएको हो । विमानस्थल उद्घाटन भएसँगै पोखरेली जनताले ५० वर्ष अगाडीबाट देख्दै आएको सपनाले आज औपचारिक रुपमा सार्थकता पाएको छ ।
यस अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन भएसँगै सम्पूर्ण पोखरेलीहरु उत्साहित भएका छन् । विमानस्थल उद्घाटन अघि यहाँ जहाज उडान र अवतरण भएका थिए । बुद्ध एयर, यति एयरलाइन्स, गुण, सौर्य र हिमालय एयरलाइन्सका जहाज आज यस नयाँ विमानस्थलमा अवतरण भएका थिए । यस लगतै पोखराबाट उडान शुरु गरिएको थियो । बुद्ध एयरको ७२ सिटे एटीआरबाट यस विमानस्थलको शुभारम्भ भएको थियो ।
यस विमानस्थल उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउन पोखरा महानगरपालिकाको आह्वानमा पोखराका प्रतिष्ठित व्यक्तित्वहरुसँगै आमा समुह, युवा क्लब, विभिन्न संंघ–संस्थाहरु सहभागी भएका थिए ।यस अवसरमा पोखराको अमरसिंहचोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिका मौलिक झाँकीसहितको ¥याली समेत निकालिएको थियो ।
विमानस्थल समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनाउन पोखरेली जनताहरुले जुन संकल्प गरेका थिए त्यो संकल्पप्रति सम्पूर्ण पोखरेली जनतालाई सम्मान पनि व्यक्त गरेका थिए ।
आफु प्रधानमन्त्री भएको एक हप्तामा नै यस शुभकार्य गर्ने मौका पाएकोमा निकै भाग्यमानी ठानेको बताउँदै उनले यो अवसर पाउनु आफ्नो लागि गौरवको विषय भएको बताएका थिए । उनले अहिलेको युग भनेको कनेक्टिभिटिको भएको र नेपाल जस्तो भू–परिवेष्ठित मुलुकको कनेक्टिभिटिका लागि हवाइमार्गको नेटवर्क सबैभन्दा मुख्य भएको बताए ।
उनले यस अन्तराष्ट्रिय विमानस्थलले पोखरा र गण्डकी मात्र नभएर देशकै विकास र समृद्धिको सपनामा महत्वपूर्ण योगदान गर्ने बताए । सम्बोधनका क्रममा उनले पोखरा अन्तराष्ट्रिय विमानस्थल देशको लागि तेस्रो अन्तराष्ट्रिय विमानस्थल भएको र आफुहरुले छिट्टै निजगढ विमानस्थलको काम पनि अगाडी बढाउने जनाएका थिए ।
प्रधानमन्त्री प्रचण्डले यस विमानस्थल संचालनमा आएसँगै अब पोखराबाट सिधै अन्य मुलुकसँगको पहुँचमा यस सुन्दर ठाउँ जोडिएको स्पष्ट पारेका थिए । उनले आफ्नो जन्मभूमि कास्की भएकाले पनि यस क्षेत्रको विकासका लागि आफु प्रधानमन्त्री भएको हैसियतले थप पहलहरु गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।
यसै अवसरमा उनले यस विमानस्थलका परिकल्पनाकार शंकरराज पाठक आफ्नो गुरु भएको भन्दै प्रशंसा गरेका थिए । विमानस्थल परिकल्पनाकार पाठकलाई यस अवसरमा नागरिक अभिनन्दसहित सम्मान पनि गरिएको थियो ।
यस्तै यस विमानस्थल उद्घाटन समारोहमा उप–प्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पर्यटन विकासका निम्ति विमानस्थल मात्र नभएर सडकको पनि उत्तिकै महत्व हुने बताएका थिए । यसका लागि सिद्धार्थ राजमार्गको स्तरोन्नती अबको योजना भएको बताएका थिए ।
उनले यस शुभ अवसरमा पोखराबासी र नागरिक समाजले धर्ना र अनशन गरेर राखेको माग करिब ५ दशकपछि पुरा भएको स्मरण गरेका थिए । यस उद्घाटनको शुभ अवसरमा गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र पोखरेल नेपाली, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र विमानस्थल निर्माणकर्ता चिनिया कम्पनिका अधिकारीहरुले समेत सम्बोधन गरेका थिए ।
त्यस्तै विमानस्थल उद्घाटन समारोहमा पोखरेलीबासीहरुको उत्साहजनक सहभागीत थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ बैशाख १ गते यस विमानस्थल निर्माणको शिलान्यास गरेका थिए । शिलान्यास भएको डेढ वर्षपछि मात्र यस विमानस्थल निर्माण कार्यको थालनी भएको थियो ।
२ हजार ५ सय मिटर लामो रन वे र ४५ मिटर चौडाइ भएको यो विमानस्थल प्रभावकारी रुपमा चलेको खण्डमा विभिन्न एयरलाइन्स कम्पनीहरुको आगमनसँगै अन्तराष्ट्रिय शहरसँग पोखराको सीधा सम्पर्क हुनेभएको छ ।
यस विमानस्थलमा बोइङ ७५७–२०० र एयरबस ३२० जहाजले उडान तथा अवतरण गर्न सक्ने भएको छ । यो विमानस्थलले ३ वटा ठूला र ८ वटा साना गरी ११ वटा जहाज पार्किङ गर्न सक्ने विमानस्थल प्राधिकरणले जनाएको छ ।
यहाँबाट दैनिक ६ वटा अन्तराष्ट्रिय उडान हुने भने पनि अन्तराष्ट्रिय रुट नपाउँदा अहिले आन्तरिक उडान गरेर विमानस्थलको उद्घाटन गरिएको हो । व्यस्त समयमा प्रतिघण्टा ६ सय १० जना यात्रु व्यवस्थापनको क्षमता यो विमानस्थलसँग भएको बताइएको छ ।
नागरिक उड्डयन प्राधिकरण र चिनियाँ ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच सन् २०१४ मे ३१ मा यो विमानस्थल निर्माणको लागि सम्झौता भएको थियो ।
चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदानमा तयार भएको यस विमानस्थल संचालनमा आएसँगै नेपालमा अन्तराष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ ।
यस पोखरा अन्तराष्ट्रिय विमानस्थलको लागि भनेर २०३२ सालमा ३१ सय रोपनी जग्गा अधिग्रहण गरिएकोमा अहिले झण्डै ४ हजार रोपनी जग्गामा विमानस्थल फैलिएको छ ।