२२ औं संस्करणकोआहा ! रारा गोल्डकपको उपाधि संकटालाई
  • प्रमुख खबर

पोखरा ।

सहारा क्लब पोखराको आयोजनामा भएको २२ औं आहा ! रारा गोल्डकपको उपाधि संकटा फुटबल क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा संकटाले भुटनिज युथ क्लब अमेरिकालाई ३–२ को गोल अन्तरले हराउँदै दोश्रो पटक उपाधि जित्न सफल भएको हो । यसभन्दा अगाडी २०७७ मा संकटाले आहा ! रारा गोल्डकपको उपाधि उचालेको थियो ।

निर्धारित समयमा २–२ को बराबरीको खेलमा अतिरिक्त समयको अन्त्यतिर संकटाका कप्तान सुनिल बलले निर्णायक गोल गरेपछि भ्रमणकारी टोली भुटनिज युथ एससी अमेरिकाको उपाधि चुम्ने सपना अधुरो भएको हो ।

अतिरिक्त समयको २७ औं मिनेटमा दुई विदेशी खेलाडीको समन्वयमा पेनाल्टी बक्समा प्राप्त बलमा सुनिलले गोल गर्दै संकटालाई जित दिलाउन सफल भएका हुन् । यस गोल्डकप उपाधि विजेता संकटाले नगद १२ लाख रुपैँयासहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । त्यस्तै उप–विजेता टिम भुटनिज युथ क्लब अमेरिकाले नगद ६ लाख रुपैँयासहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ ।

यस्तै यस २२ औं संस्करणको आहा ! रारा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी सुनिल बल बनेका छन् । आफ्नो क्लबको जितको लागि गरेको निर्णायक गोलले नै उनले सर्वोत्कृष्ट खेलाडीको उपाधि चुम्न सफल भएका हुन् ।

यसैबीच संकटाकै आयुष घलान उत्कृष्ट मिडफिल्डर, टिकेन्द्र थापा उत्कृष्ट गोल रक्षक, स्टेफन बिनोङ उत्कृष्ट फरवार्डर र भुटनिजका हेक्टर ओर्टेगाले उत्कृष्ट डिफेन्डरको उपाधि जितेका छन् । यस्तै यस गोल्डकपको उत्कृष्ट प्रशिक्षक संकटाका सल्यान खड्गी घोषित भएका छन् भने फ्लेयर प्ले धरान फुटबल क्लब घोषित भएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्