सरिता गुरुङ्ग
पोखरा ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले पदभार ग्रहण गरेका छन् ।कास्की क्षेत्र नम्बर १ (१)बाट निर्वाचित अधिकारीलाई आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गले नेपालको संविधानको धारा १६८ (२)बमोजिम मुख्यमन्त्रीको पदमा नियुक्तिसँगै सपथग्रहणपछि पदभार ग्रहण गराएका हुन् ।
अधिकारीलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र मनाङ १ को क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका राजीव गुरुङ्ग (दिपक मनाङे)ले समर्थन गरेका थिए ।
मनाङेले स्वतन्त्रबाट चुनाव जितेर नेकपा एकीकृत एसमा प्रवेश गरेतापनि आज एमालेबाट मुख्यमन्त्री दाबी पेश गर्ने क्रममा अधिकारीलाई समर्थन गरेका हुन् । नेकपा एसले संघमा सरकारको समर्थन गरिनसकेको अवस्थामा पनि एमाले नेतृत्वको गठबन्धन सरकारलाई मनाङेले समर्थन गरेका हुन् ।
अधिकारीले मुख्यमन्त्रीको पदभार ग्रहण गरेलगतै गण्डकी प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ । उक्त बैठकबाट तीनवटा निर्णय पारित भएको छ ।
पहिलो निर्णय अनुसार लोकतन्त्र प्राप्तिका लागी विभिन्न आन्दोलनमा शहिद भएका ज्ञातअज्ञात शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै २०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा सहयोग गर्ने सम्पूर्ण राष्ट्रसेवकसँगै मतदाताहरुलाई धन्यवाद व्यक्त गरेको मन्त्रीपरिषद्का प्रवक्ता सीता सुन्दासले बताएकी छन् ।
दोस्रो प्रदेशको शासकीय क्षता अभिवृद्धिका लागि सुशासन कायम गर्न, सेवा प्रवाहमा सुझाव पेश गर्न मुख्यमन्त्री तथा प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरेको बताईन् । त्यस्तै तेस्रो मा प्रदेश मातहतका ११ वटै जिल्लामा डायलसिस सेवा प्रवाह गर्न निर्देशन दिएको समेत सुन्दासले जानकारी दिएकी छन् ।