सरिता गुरुङ्ग
पोखरा ।
६६ औं संस्करणको नौ धारे माघे संक्रान्ति मेला हुने भएको छ । पोखरा महानगरपालिका वडा नं. १६ स्थित रञ्जित गाउँमा उक्त मेला आयोजना हुने भएको हो ।
यही पौष २८ देखि माघ १ गतेसम्म नौ धारे सिद्ध बराह युवा क्लबले उक्त मेला गर्न लागेको बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । यस गाउँमा वि.सं. २०१३ सालदेखि नै माघे संक्रान्ति मेलाको आयोजना हुँदै आएको क्लबका अध्यक्ष शम्शेर गुरुङ्गले जानकारी दिएका छन् ।
क्लबका अध्यक्ष गुरुङ्गका अनुसार त्यस समय माघे संक्रान्तिको दिन नौ धारामा स्नान गरी तरुल र मासको टिका लगाई आर्शिवाद लिने साथै कन्याहरुलाई सोही टिका लगाई आर्शिवाद दिने चलन थियो भने पछि ठेलो हान्ने प्रतियोगिता आयोजना हुँदै आएकोमा केही वर्ष यताबाट आफुहरुले केही परिमार्जन गरेर मेला आयोजना गरिरहेको बताएका छन् ।
यो गाउँ पोखराको चर्चित स्थान महेन्द्र गुफाबाट करिब ५ किलो मिटरको दुरीमा रहेको एउटा अति नै सुन्दर ठाउँ भएको उनले बताएका छन् । तर पछिल्लो समय रोजगारीको लागि यहाँका युवाहरु विदेशीने क्रम बढेसँगै र आधुनिकतासँगै बसाईसराईले गर्दा पहिले करिब ४० घरधुरी रहेको यस गाउँमा केही वर्ष अघिबाट भने जम्मा ५ देखि ७ घरमा मात्र बसोबास गर्दै आई रहेको अध्यक्ष गुरुङ्ग बताए ।
यसरी गाउँ मानव विहिन बस्ती हुने भएकोले २०७४÷०७५ देखि यस गाउँलाई विकासमुखी बनाई बेसी शहर तिर बसोबास र वैदेशिक रोजगारमा लाग्ने जनशक्तिलाई आफुहरुको पुर्खौली थलोमा रोजगार दिलाउने उद्देश्यले नै विभिन्न कार्यक्रमहरु आयोजना गरिदै आएको बताएका छन् ।
उनले अहिले आफुहरुको यस गाउँमा केही बाख्रा पालन र कृषि सम्बन्धित फर्महरु दर्ता गरी ५÷७ टनेलको अर्गानिक खेतीको शुरुवात गरी होम स्टे संचालन गर्दै आईरहेको पनि जानकारी दिएका छन् । उनका अनुसार विशेषगरी आफुहरुको गाउँ नजिकै रहेको नौ धारे सिद्धबराह मन्दिरमा टाढा–टाढाबाट भक्तजनहरु त्यहाँ आउने गरेकोले पछिल्लो समय दर्शनाथीहरुको भिड लाग्ने गरेको पनि बताएका छन् ।
यस रञ्जित गाउँदेखि उत्तर तिर पर्ने मुलकोट भुमी पाँक डाँडा, नागी डाँडा जस्ता सुन्दर ठाउँ पुग्नलाई डेढ घण्टा लाग्ने र त्यहाँबाट माछापुच्छ्रेको काखमा नै भएको आभास हुनुको साथै चारै दिशाका सुन्दर गाउँ, हिमाल, पहाड र पोखराका अति नै सुन्दर देख्ने सकिने समेत क्लबका अध्यक्ष गुरुङ्ग जानकारी दिएका छन् ।
यस गाउँमा आयोजना हुने उक्त ६६ औं संस्करणको मेलामा भलिबल प्रतियोगित, ठेलो हान्ने प्रतियोगितसँगै अन्य धेरै सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।