सरकार गठन भएको आधा महिनापछि मात्र गण्डकी प्रदेशमा मन्त्री परिषदले पायो पूर्णता
  • प्रमुख खबर

पोखरा ।

गण्डकी प्रदेशमा सरकार गठन भएको आधा महिनापछि मात्र मन्त्री परिषदले पूर्णता पाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको टुंगो लगाएसँगै मंगलबार गण्डकी प्रदेश सरकारले बल्ल पूर्णता पाएको हो ।

सरकार गठन भएको करीब आधा महिनाको दौडधुप र सकसको बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” र एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुई–दुई पटक भेटपछि मात्र मुख्यमन्त्री अधिकारीले आज मन्त्री परिषदलाई विस्तार गर्न सफल भएका हुन् ।

यसअघि १२ मन्त्रालय रहेको यस प्रदेशमा ५ वटा मन्त्रालय घटाएर उनले ७ मा झारेका छन् । उनले आज नेकपा एमालेका २ र माओवादी केन्द्रका १ सहित तीन मन्त्री थप गरेका छन् ।

अधिकारीले एमालेबाट रोशन गाहा मगर र वदे बहादुर गुरुङ (श्याम) साथै माओवादी केन्द्रबाट रेशम जुग्जालीलाई मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुले आज साँझ नै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गसमक्ष सपथ लिएका छन् ।

यसअघि एमालेकी सीता कुमारी सुन्दास, माओवादीका हरि बहादुर चुमान र राप्रपाका पञ्चराम तमु मन्त्री भईसकेका छन् ।

मन्त्रीहरुको टुंगो लगाउने क्रममा एमालेका रोशन गाहा मगरले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सीता सुन्दासले आर्थिक मामिला मन्त्रालय र वेद बहादुर गुरुङ्ग (श्याम) ले कृषि तथा जलस्रोत मन्त्रालय प्राप्त गरेका छन् ।

त्यस्तै माओवादीका हरिबहादुर चुमानलाई भौतिक पूर्वाधार र रेशम जुग्जालीलाई उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय दिईएको छ । राप्रपाका पञ्चराम गुरुङ्गले सामाजिक विकास मन्त्रालय पाएका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्