पोखरा ।
‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि घरेलु टोली गण्डकी प्रदेशले जितेको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा सम्पन्न रोमाञ्चपूर्ण फाइनलमा विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हो ।
घरेलु दर्शकको साथ पाएको गण्डकीले पहिलो सेट २५–१६ ले एपिएफलाई सुम्पिए पनि पछिल्ला दोश्रो र तेश्रो सेट क्रमशः २५–१८ र २५–१९ ले जित्यो । तर चौथो सेटमा गण्डकीले आफूले पाएको अग्रता जोगाउन नसक्दा २८–२६ ले एपिएफलाई बुझायो । तर अन्तिम सेटमा भने गण्डकीले एपिएफलाई खेलमा फर्किने कुनै मौका नै दिएन । सुरुवातबाटै अग्रता लिएको गण्डकीले पाँचौ सेट १५–८ ले जित्दै उपाधि हात पार्यो । यो संगै गण्डकीले दोश्रो पटक उपाधि उचालेको हो । दुई वर्ष अघि सम्पन्न प्रथम टाइगर कपमा गण्डकीले उपाधि जितेको थियो ।
यता महिलातर्फको फाइनलमा साविक विजेता एपिएफले आफ्नो लयमा कायम रहँदै दोश्रो पटक लगातार टाइगरकप भलिबलको उपाधि जितेको छ । एपिएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लवलाई २५–२२, २०–२५, २५–८ र २५–२२ ले जित्दै उपाधि जितेको हो ।
उपाधिसंगै घरेलु टोली गण्डकी र एपिएफले समान नगद रु ५–५ लाख नगद हात पारेका छन् उपविजेता रहेको पुरुषतर्फको एपिएफ र महिलातर्फ नेपाल आर्मीले समान नगद रु २ लाख ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यसै गरी आज नै भएको पुरुषतर्फको तेश्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लवले जित हासिल गरेको छ । साविक विजेता समेत रहेको नेपाल आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले तेश्रो स्थान प्राप्त गरेको हो । पहिलो सेट २५–२२ ले गुमाएको पुलिसले पछिल्ला तिन सेट २५–१८, २५–२१ र २५–२० ले जित्दै नगद रु १ लाख २५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । नेपाल आर्मी चौथो हुँदै नगद रु ६५ हजार प्राप्त गरेको छ ।
त्यस्तै महिलातर्फ होङवान्जी न्यू डायमण्ड स्पोर्टस क्लवले तेश्रो स्थान प्राप्त ग¥यो । न्यू डायमण्डले नगद रु १ लाख २५ हजार प्राप्त गर्दा प्रतियोगितामा चौथो स्थान प्राप्त गरेको गण्डकीले नगद ६५ हजार हात पारेको छ ।
त्यसै गरी तेश्रो टाइगरकप भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा महिलातर्फ एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट हुन सफल भइन् । उनीहरुले जनही नगद रु २५–२५ हजारका साथमा ट्रफी प्राप्त गरे ।
सम्पन्न प्रतियोगितामा पुरुषतर्फ वेष्ट स्पाइकरमा एपिएफका टेकराज अवस्थी, वेष्ट ब्लकरमा गण्डकीको टिममा समावेश भारतिय खेलाडी नितिन, वेष्ट सेटरमा गण्डकीका विवश आले, वेष्ट स्पाइकरमा एपिएफका विनोद चन्द र वेष्ट सर्भरमा गण्डकीका घनश्याम चौधरी घोषित भए । पुरुषतर्फ उत्कृष्ट प्रशिक्षकमा गण्डकीका रमेश केसी भए भने महिलातर्फ एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक भएका छन् ।
त्यस्तै महिलातर्फ वेष्ट स्पाइकरमा एपिएफकी सरस्वती चौधरी, वेष्ट ब्लकरमा आर्मीकी संगम महतो, वेष्ट सेटरमा न्यू डायमण्डकी प्रगती नाथ, वेष्ट लिविरोमा आर्मीकी सरस्वती जैशी घोषित हुँदा वेष्ट सर्भरको उपाधि भने गण्डकीकी अरुणा शाहीले प्राप्त गर्न सफल भइन् ।
पुरुष र महिलातर्फ उत्कृष्ट घोषित हुने खेलाडीहरुले जनही नगद १०–१० हजार बराबरको एक्स–टेप कम्पनीको जुताका साथमा ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
विजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, गण्डकी प्रदेशका सांसदद्वय लिला बहादुर थापा, प्रकाश बराल लगायतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
सो अवसरमा सदस्य सचिव घिसिङले पूर्व महिला राष्ट्रिय भलिबल खेलाडी लक्ष्मी गुरुङ र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दलाई भलिबल खेलको विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेका थिए ।