काठ्माण्डौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन् । आज साँझ बालुवाटार पुगेर लामिछानले प्रधानमन्त्री प्रचण्डलाई भेटेको स्रोतले जनाएको छ ।
आज नै नेपाली नागरिकताको प्रमाण–पत्र लिएका उनी आजै रास्पाको सभापतिमा मनोनित समेत भएका छन् । लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानुनले तोकेको प्रक्रिया पुरा नगरेको भन्दै शुक्रबार उनको सांसद पद खारेज हुने फैसला सर्वोच्चले गरेको थियो । सर्वोच्चको उक्त फैसलासँगै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद र गृहमन्त्री पद समेत गुमाएका थिए ।
त्यस्तै रास्पाले गृह मन्त्रालयमा आफहरुको दाबी कायम रहेको बताइरहेको छ । रास्पाका महामन्त्री मुकुल ढकालले समेत गृह मन्त्रालयका विषयमा आफुहरुको पार्टीबाहेक अरु दलहरुको कुनै अधिकार नभएको दाबी गरेका छन् । उनले पार्टी सभापति लामिछानेले सत्ता साझेदार दलका शीर्ष नेतालाई भेटेर गृहमन्त्री को बन्ने भन्ने बारेमा टुंगो लगाउने बताएका छन् । सोही अनुरुप लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेको हुन सक्ने अनुमान रहेको स्रोतले जनाएको छ ।