पोखरा महानगरपालिका ह्विलचेयर बास्केटबलको विजेता
  • प्रमुख खबर

पोखरा, २० माघ ।।

आयोजक पोखरा महानगरपालिकाको टिम प्रथम पुरुष तथा महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको विजेता बनेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले शुक्रबार पोखरा रंगशालाको बास्केटबल कोर्टमा आयोजना गरेको प्रतियोगितामा आयोजक नै विजेता भएको हो ।

हरियोखर्क अस्पतालको टिम द्वितीय र महिला–पुरुष सहभागी मिक्स टिम तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार र सात हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा चार टिम सहभागी थिए । अपांगता खेलकुद समाज, कास्कीको टिमले सान्त्वना पुरस्कार स्वरुप ३ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र पाएको
छ ।

पोखरा महानगरपालिकाको टिमका भरत बानियाँले सर्वाधिक ८ स्कोर गर्दै सर्वाधिक स्कोररको ट्रफी र प्रमाणपत्र पाए । हरियोखर्क अस्पतालका सुरेश
गौली म्यान अफ द म्याच घोषित भए । उनले पनि ट्रफी र प्रमाणपत्र पाए । कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद् उपाध्यक्ष ध्वजकुमार गुरुङले महानगरपालिकाले खेलकुद विकास र खेलाडी उत्पादन गर्न निरन्तर प्रतियोगिता गरिरहेको भन्दै प्रशंसा गरे ।

उनले अपांगता भएकाहरुलाई प्रोत्साहन गर्न आयोजित प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गरेको बताए । खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले ह्विलचेयर बास्केटबल प्रतियोगिताले अपांगता भएकाले पनि खेल्न सक्छन् भनेर राम्रो सन्देश दिएको बताए । पहिलोपटक प्रतियोगिता आयोजना गरेको र अब यसलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया दिनुहोस्