राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थाले कर्जा असुलीका लागि सूचना निकाल्दा ऋणीहरुको तस्विर सार्वजनिक गर्न नपाउने
  • प्रमुख खबर

काठ्माण्डौं ।

बैंक तथा वित्तिय संस्थाले आफ्ना ऋणीबाट कर्जा असुलीका लागि सूचना जारी गर्दा उनीहरुको तस्विर सार्वजनिक गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

राष्ट्र बैंकले एकीकृत निर्देशनमा केही परिमार्जन गर्दै १५ लाख रुपैयाँसम्मको व्यक्तिगत कर्जामा सममासिक किस्ताको समयावधि समेत दुई वर्ष बढाएको छ । सममासिक किस्तामा कर्जा भुक्तानी हुने गरी भुक्तानी तालिका तय हुनुपर्ने र यस्तो कर्जाको अधिकतम समयावधि ५ वर्षसम्म मात्र हुने व्यवस्था रहेकोमा त्यसलाई बढाएर ७ वर्ष बनाइएको छ ।

एक वर्षभन्दा बढी अवधिका लागि प्रवाह भएको कर्जा असुलीका लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नुअघि कर्जाले भाका नाघेको कम्तीमा ६ महिना व्यतीत भइ शङ्कास्पद वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ । त्यस्तै अर्थतन्त्रमा पछिल्लो समय देखिएको अवस्थालाई हेरेर बैंक तथा वित्तिय संस्थाले कर्जाको वर्गीकरण गर्दा तल्लो वर्गीकरण समेत गर्न पाउने भएका छन् ।

उदाहरणका लागि कमसल कर्जालाई शङ्कास्पद वा खराब कर्जामा र शङ्कास्पदलाई खराब कर्जामा वर्गीकरण गर्न सकिने राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

यस्तै राष्ट्र बैंकले गैर बैंकिङ्ग सम्पत्तिको मूल्याङ्कन गर्दा बैंक तथा वित्तिय संस्थाले एउटै मूल्याङ्कन कर्ताबाट लगातार एक पटक भन्दा बढी त्यही सम्पत्तिको मूल्याङ्कन गर्न नपाउने व्यवस्था पनि ल्याएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्