सरिता गुरुङ्ग
पोखरा ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पोखरालाई अन्तराष्ट्रिय हवाई सञ्जालसँग जोड्नका लागि आफुले सक्दो प्रयास गरिरहेको बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले विहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पोखरा अन्तराष्ट्रिय विमानस्थललाई फुल स्पिडमा संचालन गर्नका निम्ति मित्र राष्ट्र चीन र भारतसँगै अन्तराष्ट्रिय स्तरमा नै अन्य धेरै देशहरुसँग कुट्नीतिक रुपमा नै पहल भइरहेको जानकारी दिएका छन् ।
उनले पोखरा जस्तै सुन्दर शहर चीनमा पनि भएको र उक्त शहरसँग पोखराको भंगिनी सम्बन्ध रहेको हुँदा यहाँबाट चीनको राजधानी बेईजिङ, तिब्बत जस्ता ठाउँहरुमा सिधै हवाई उडान भर्नका निम्ति प्रयास भइरहेको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किराँतीले सम्पूर्ण पोखरेली जनताको प्रश्न भनेको नै पोखराबाट कहिले अन्तराष्ट्रिय उडान हुन्छ भन्ने नै रहेको बताउँदै उनले आजको मितिबाट नै तिव्र गतिमा नागरिक उड्डयन प्राधिकरणसँग छलफल र परामर्श गरेर अगाडी बढ्ने बताए । तर पोखराबाट अन्तराष्ट्रिय उडान कहिले हुन्छ भनेर पात्रो हेरेर भन्न नसकिने भने उनले जानकारी गराएका छन् ।
आफ्नो मन्त्रालयमा समस्याको चाङसँगै चुनौती र अप्ठ्याराहरु भएको बताउँदै उनले यस मन्त्रालय सम्हाल्नु भनेको बाघको घोडा कुदाए जस्तै अवस्थामा आफु यतिबेला रहेको समेत प्रष्ट पारेका छन् । तर जस्तो सुकै समस्या भएतापनि समाधानको उपायहरु हुने र असम्भव भन्ने पनि नहुने बताए । यसका लागी आफु लागि परेको र कामको नतिजा देखिन केही समय लाग्ने जनाएका छन् ।
त्यस्तै उनले हवाई सम्बन्ध विस्तारका लागि कुटनीतिक पहल भने भइरहेको तर यसको लागि अझै केही समय भने लाग्ने जानकारी दिए । त्यस्तै मन्त्री किराँतीले आफु प्राविधिक नभएको, कहाँ मुसाले तार काट्यो, विमानको कुन चक्कामा समस्या छ भनेर हेर्ने तर आफुलाई विजनेस प्लान चाहिएको बताए । यसकाले उनले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमका पदाधिकारीलाई निर्देशन दिएको समेत जानकारी गराएका छन् ।
उनले राष्ट्रिय ध्वजाबाहक वायु सेवा निगम राष्ट्रको गौरवको रुपमा स्थापित हुनुपर्ने र बन्नुपर्ने पनि बताए । कुनैपनि सवारी साधनहरु चाहे त्यो सडकमा गुड्ने गाडी होस् या आकाशमा उड्ने विमान त्यसलाई सहि तरिकाले र सहि समयमा राम्रोसँग मेन्टन गरेर चलाएको खण्डमा त्यो पूरानो नहुने प्रस्ट पारेका छन् ।
अमेरिका जस्तो देशमा समेत नेपालले भन्दा धेरै पूरानो जहाजहरुले उडान भर्दै आएको बताउँदै त्यसको लागि निश्चित समय पुगेपछि कुनैपनि विमानको पार्टपुर्जा फेरिनुपर्ने, विमानले कतिपटक ल्यानडिङ र टेक अफ गरेको छ त्यसका आधारमा समेत सामानहरु फेरिनुपर्ने बताएका छन् । तर उनले नेपालको सवालमा आफुले सुने अनुसार पाईलटले विमानस्थलका प्राविधिकलाई पार्टपुर्जा फेनुप¥यो भन्दापनि अझै एक–दुई फ्लाईट गरेपछि मात्र फेरौंला भनेर झारो टार्ने गरेको बताए । तर उनले अबका दिनमा त्यस्तो नहुने र सुरक्षाको सवालमा कुनैपनि कम्परमाईज नहुने पनि स्पष्ट पारेका छन् ।