काठ्माण्डौं ।
आज ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १०४ वर्षे एकतन्त्रीय जहानियाँ राणा शासनको अन्त्य भई २००७ साल फाल्गुन ७ गते देशमा प्रजातन्त्रको स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
यस दिवसको अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ । फाल्गुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत्र २६ गते देशमा पूनःप्रजातन्त्र स्थापना भएको थियो । यसैको जगमा २०६३ सालको वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०३५ जेष्ठ १५ गते पहिलो संविधानसभाले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्रको रुपमा स्थापित गरेको छ । दोस्रो संविधानसभाले २०७२ आश्विन ३ गते संविधान घोषणा गरी कार्यान्वयन गरेको छ ।
विशेषगरी सबै परिवर्तनको जग नै फाल्गुन ७ गते अर्थात प्रजातन्त्र दिवस भएकाले पनि यसलाई महत्वपूर्ण रुपमा दिई यस दिन विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाउने गरिएको छ । यस दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण देशबासीहरुमा शुभकामना दिएकी छन ।
उनले राज्यशक्तिको सम्पूर्ण स्रोत नै नागरिक हो भन्ने मान्यतामा आधारित रहेर लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सके मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुने बताएकी छन् । राष्ट्रपति भण्डारीले यस अवसरमा देशको आर्थिक समृद्धलाई अबको मूल लक्ष्य बनाउनुपर्ने समेत जनाएकी छन् ।
त्यस्तै यसै अवसरमा उप–राष्ट्रपति नन्द बहादुर पुनले प्रजातन्त्र प्राप्ति र त्यसपछि भएका आन्दोलनका उपलब्धिको संरक्षण तथा रक्षाका लागि सबै पक्षलाई आग्रह गरेका छन् ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको प्रगतिशिल कार्यान्वयनमार्फत समाजवाद उन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार भएको बताएका छन् ।
उनले अहिलेको वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्था अनुरुप नागरिकको अवस्था बदल्न दृण संकल्पका र प्रतिबद्ध साथ लागी परेको जानकारी दिएका छन् । उनले वृहत राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको र बदलिएको राजनीतिक व्यवस्था अनुरुप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको समेत बताए ।