कैलाली ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता अरुण कुमार चौधरी रिहा भएका छन् । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी कैलाली कारागारबाट आइतबार (आज) विहान रिहा भएका हुन् ।
प्रजातन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय ९५ जना कैदीलाई आम माफी गर्ने निर्णय गरेकी थिइन् । सोही आम माफीको सूचीमा चौरधीको नाम समेत रहेको थियो । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आवश्यकता प्रक्रिया पूरा गरी चौधरीलाई रिहा गरिएको जानकारी दिएका छन् ।
राष्ट्रपतिको आममाफीबाट कारागारमुक्त भएका उनले आफुमाथी राजनीतिक प्रतिशोध साधिएको आरोप लगाउँदै १८ दिनको कारागार बसाईले धेरै पाठ सिकाएको बताएका छन् ।
थरुहट आन्दोलनको समयमा बन्दको अवज्ञा गरेको भन्दै २०६६ साल भाद्र ३ गते ट्रयाक्टर जलाएको घटनामा २०७० साल बैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित अन्य ३ जनाविरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४ सय २३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । उक्त ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघ १९ गते बाँकेबाट प्रहरीले पक्राउ गरेको थियो ।