पोखरा ।
नेपाली कांग्रेस कास्कीले पोखराका उद्योग व्यवसायीहरुले बैंकको चर्को ब्याज दरबाट मारमा परेको भन्दै त्यसविरुद्ध शुरु गरेको आन्दोलनप्रति साथ दिने भएको छ ।
कास्की कांग्रेसले बैंकहरुले ब्याजदर घटाउनुपर्ने मागसहित व्यवसायीहरुले भोलिदेखि शुरु गर्ने उक्त आन्दोलनमा एक्यबद्धता जनाउँदै आज एक विज्ञप्ति जारी गरेको छ ।
नेपाली कांग्रेसका सभापति किशोरदत्त बरालद्धारा हस्ताक्षरित उक्त विज्ञप्तिमा नेपालमा बैंक तथा वित्तिय संस्थाहरुको संख्या धेरै भएका कारण बैंकको सञ्चालन खर्च धेरै बढेकोले बैंकहरुले बढी ब्याजदरमा निक्षेप लिइएकोले व्यवसायीहरु समस्यामा परेको उल्लेख गरेको छ ।
यसतर्फ सरकारको ध्यानाकर्षण गराउँदै देशको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पोखरेली उद्योगी व्यवसायीहरुले राखेका मागहरुप्रति नेपाली कांग्रेसले एकयबद्धता जनाउने बताएको छ ।
पोखरेली उद्योग व्यवसायीहरुले यसभन्दा अघि पनि आन्दोलन गर्ने तयारी गरेतापनि देशमा निर्वाचनको समय भएकोले आन्दोलनलाई केही समय रोकेका थिए । तर यसपटक भने पोखरेली व्यवसायीहरु निर्णायक आन्दोलनको तयारी पुगेको र जबसम्म आफुहरुको माग सम्बोधन हुँदैन तबसम्म कुनैपनि हालतमा आन्दोलन नरोकिने जनाएको छ ।
जारी विज्ञप्तिमा, “अहिले नेपालको आर्थिक अवस्था अत्यन्त कमजोर स्थितिमा पुगेको छ । औद्योगिक वातावरण निर्माण हुन नसकेका कारण उत्पादनशील क्षेत्र निरुत्साहित भएको छ । बैंकको चर्को ब्याजदर र आर्थिक मन्दिका कारण व्यापार व्यवसायहरु बन्द हुने अवस्थामा पुगेका छन् । जस कारण दिन प्रति दिन आयात बढ्दै गएको छ ।
कृषिजन्य उत्पादनमा समेत नेपाल परनिर्भर हुनुपर्ने लज्जास्पद अवस्था हामीसँग रहेको” भनिएको छ । आयात र निर्यातको अवस्था अत्यन्तै असन्तुलित भएका कारण त्यसको खराब प्रभाव नेपालको सबै क्षेत्रमा देखा परेको कारण नेपालको आर्थिक अवस्था श्रीलंकाको जस्तो हुने हो की भन्ने त्रास सर्वत्र फैलिएको छ ।
राष्ट्र यस्तो डर लाग्दो अवस्थाका प्रति एउटा जिम्मेवार राजनैतिक पार्टीको हिसाबमा नेपाली कांग्रेस, कास्कीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
त्यस्तै यता, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले बैंक तथा वित्तिय संस्थाहरुबाट कर्जामा गरिएको ब्याज वृद्धि, धरपकड र मानसिक आतंकको विरोधमा भोलि चिप्लेढुंगा चोकमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिने बताएका छन् ।