पोखरा ।
पोखराका विभिन्न बैंकका एटीएम मेशिन फोर्ने प्रयास गरेका दुई जना यूवकहरुलाई प्रहरीले पक्राउ गरेको छ । ती युवकहरुले पोखराका विभिन्न बैंकको एटीएम मेशिन तोडफोड गर्ने, ढुंगा हान्ने र सीटीटीभी क्यामेरालाई कागजले छोप्ने जस्ता कार्य गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
मंगलबार राति पोखरा महानगरपालिका–१० रामबजारमा रहेको एनआईसी एसिया बैंकको एटीएम, पोखरा–१५ वन क्याम्पस गेट नजिकै रहेको नेपाल बैंकको एटीएम र रामबजार पेन्सन क्याम्प नजिक रहेको सांग्रिला विकास बैंकको एटीएम मेशिन फोर्ने क्रममा ती यूवकहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
उक्त घटनामा संलग्न उदयपुरको गाईघाट नगरपालिका–७ घर भई पोखरा–१७ छोरेपाटन बस्ने २१ वर्षीय सुशील चाम्लिङ राई र लम्जुङको मस्र्याङ्दी गाउँपालिका–४ घर छोरेपाटन बस्ने २१ वर्षीय अर्जुन भन्ने लु बहादुर गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसुर अन्र्तगत चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता ज्ञान बहादुर खड्काले जानकारी दिएका छन् ।