सरिता गुरुङ्ग
पोखरा ।
बैंक तथा वित्तिय संस्थाहरुको चर्को ब्याज दरका कारण आत्तिएका पोखरेली उद्योग व्यवसायीहरुले यस विरुद्ध प्रदर्शन गरेका छन् । पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा पोखराको चिप्लेढुंगामा आज प्रदर्शन गरेका हुन् ।
व्यवसायीहरुले गरिखाने मर्दै छ सरकारको अर्थतन्त्र घट्दै छ, ब्याजदर चर्को भो गरिखान गाह्रो भो लगायतका नारासहितको प्ले काडमार्फत शान्तिपूर्ण ढंगमा विरोध प्रदर्शन गरेका हुन् ।
सो सांकेतिक विरोध कार्यक्रममा बैंक तथा वित्तिय संस्थाहरुले मनपरी रुपमा ब्याजदर बढाउने मात्र नभइ धितोमा राखेको जग्गा लिलामी गर्ने जस्ता धम्की दिनुका साथै ऋण र किस्ता तिर्नका लागि दवाब दिएर मानसिक रुपमा नै तनाव दिने कार्य गरेको भन्दै पटक–पटक यसका विरुद्ध व्यवसायीहरुले आवाज समेत उठाउँदै आएका थिए ।
यस विरोध प्रदर्शन कार्यक्रममा दुवै संघमा आबद्ध व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । यसअघि पोखरेली व्यवसायीहरुले पहिलो चरणमा अर्थमन्त्री र राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएका थिए भने दोस्रो चरणमा प्रदेश उद्योग वाणिज्य संघहरुको नेतृत्वमा जिल्ला संघहरुले राष्ट्र बैंकलाई पत्र बुझाइसकेको छ ।
सो विरोध कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले बैंक तथा वित्तीय संस्थाहरुले दैनिक रुपमा व्यवसायीहरुलाई फोन गरेर कर्जा चुक्ता गर्न दवाब दिने काम गरेकोले यसले एक प्रकारले नकारात्मक असल परेको बताएका छन् ।
उनले आजको विरोध कार्यक्रम एउटा सांकेतिक मात्र भएको जसरी अहिले बैंक तथा वित्तीय संस्थाहरु हेरेर मात्र बसेका छन् तर यसरी नै हेरेर बसे अर्थ मन्त्रालयमा र राष्ट्र बैंक घेर्न आफुहरु पछि नहट्ने स्पष्ट समेत पारेका छन् ।
आज भएको उक्त प्रदर्शनमा संघमा आबद्ध एशोसियट तथा प्रतिष्ठानहरुको संस्थागत सहभागिता थियो । सो प्रदर्शनमा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघसँगै थोक व्यवसायी संघहरुको समेत सहभागिता रहेको थियो ।