१८ औं संस्करणको फेवा नव वर्ष महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा
  • प्रमुख खबर

पोखरा ।

१८ औं संस्करणको फेवा नव वर्ष महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगरेकोे छ । होटल संघ पोखरा, नेपालको आयोजनामा हुन गईरहेको उक्त महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो । महोत्सव पोखराको लेकसाइडमा यही चैत्र २९, ३० र बैशाख १ गते गरी तीन दिनसम्म सञ्चालन हुने भएको छ ।

होटल संघ पोखराले आज पत्रकार सम्मेलनको आयोजना गरी उक्त महोत्सवबारे जानकारी दिएको हो । महोत्सव लेकसाइड स्थित फिस्टेल गतेदेखि हल्लन चोकसम्मको सडकमा सञ्चालन हुने संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिएका छन् । लाइभ संगीत, ख्याती प्राप्त कलाकारको गायन प्रस्तुती, सांस्कृतिक झाँकी र खानाका परिकार महोत्सवमा रहने उनले बताए ।

महोत्सवलाई लक्षित गरी प्रकाशित दररेटमा २० प्रतिशत छुट संघ अन्तर्गतका होटलहरुले प्रदान गर्ने संघले जनाएको छ ।उनले कोरोनाले प्रभावित बनाएको पर्यटन क्षेत्र पछिल्लो समय पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना, अव्यवस्थित पृथ्वीराजमार्ग र सुस्त गतिको स्तरोन्नतीले प्रत्यक्ष रुपमा असर पारेको बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाका तर्फबाट एकतर्फी रुपमा बढाइएको ब्याजदरका कारण होटल क्षेत्र अहिले उकुसमुकुसको अवस्थाबाट गुज्रनु परेको उनले स्पष्ट पारेका छन् । त्यस्तै पर्यटन क्षेत्र समस्यामा परे पनि आफूहरु धैर्यताका साथ आसावादी भएर बसेको अध्यक्ष सुवेदीले बताए ।

व्यवसायीले कोभिड अघि कमाएको पैसा र केही सुन तथा जग्गाको सहयोगमा विचमा बैंकको ऋण तिरिए पनि अहिले बैंकको साँवा र व्याज तिर्न सक्ने अवस्थामा व्यवसायी नभएको उनले जानकारी दिएका छन् ।

नेपाल राष्ट्र बैंकले पुनर्कर्जा, पुनर्तालिकिकरण र राहातका कार्यक्रम ल्याउनुपर्ने माग समेत उनले गरेका छन् । त्यस्तै सुवेदीले अहिलेको पर्यटकीय सिजनको ८० देखि ९० प्रतिशत वरपर अकुपेन्सी हुनुपर्ने त्यस्तो अकुपेन्सी २० देखि २५ प्रतिशत मात्र भएको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्