प्रधानमन्त्री प्रचण्डद्वारा पर्यटकीय गन्तव्यका रुपमा रहेकाे सराङकोटको विकासमा सहयोग गर्ने प्रतिबद्धता
  • प्रमुख खबर

पाेखरा ।।

प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन हिजो साँझ पोखरा आएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा-१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्यका रुपमा रहेकाे सराङकोटको विकासका निम्ति प्रधानमन्त्री प्रचण्ड’ले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सराङकोटका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उनले पर्यटकीय क्षेत्रकाे रुपमा रहेको सराङकोटको पर्यटन विकासका निम्ति सरकारले आवश्यक सहयोग गर्ने बताएका हुन् ।

त्यस्तै उनले साे क्षेत्रमा खानेपानी, सडकलगायतका पूर्वाधार विकासमा पनि सरकारले सहयाेग गर्ने बताएका छन् ।

खानेपानीकाे समस्या रहेकाे यस ठाउँमा सराङकोट लिफ्टिङ खानेपानी आयोजना सञ्चालनका लागि प्रधानमन्त्री दाहालसमक्ष त्यहाँका स्थानीयले माग समेत गरेका छन् ।

यस्तै साेही क्षेत्रका स्थानीय पूर्णाखर तिमिल्सिनाले विन्ध्यवासिनी सराङकोट सडक स्तरोन्नति, कृषि सडकको पहिरो नियन्त्रण, सराङकोटलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न, पर्यटन उद्यान निर्माण, राष्ट्रिय विभूति तथा सहिद उद्यानको स्तरोन्नति र पूर्वाधार थपलगायतका माग पनि पेस गरिएकाे जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्