पाेखरा ।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन कास्की प्रहरीले बुझाएको छ ।
सहकारी ठगी मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले साेमबार जिल्ला सरकारी वकिलकाे कार्यालय कास्कीमा प्रतिवेदन बुझाइएको हाे ।
उक्त प्रतिवेदनमा पोखराको सूर्य दर्शन सहकारी ठगी सम्बन्धि मुद्दामा लामिछाने सहित अन्य ६५ जनालाई प्रतिवादी बनाउन कास्की प्रहरीले राय दिएको प्रहरी उपरीक्षक एसपी श्यामबहादुर ओलीयाले जानकारी दिएका छन् ।
६५ जना प्रतिवादीमध्ये १९ जनाविरुद्ध यसअघि नै अभियोजन भइसकेको छ । बाँकी प्रतिवादीमध्ये ३७ जना अझै फरार रहेको एसपी अाेलीयाले बताएका छन् ।
प्रहरीले बुझाएको साे प्रतिवेदनमा प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो मागदाबी गर्नपनि राय दिएको छ ।
त्यस्तै, उनीहरुविरुद्ध सहकारी ठगीसहित संगठित अपराध तथा सम्पती शुद्धिकरण सम्बन्धी मुद्दा अभियोजन गर्न समेत प्रहरीले राय दिएको छ ।
यता जिवी राईविरुद्ध भने अभौतिक मुद्राको कारोबार गरेको प्रमाण फेला परेको भन्दै थप कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीको निश्कर्ष छ ।
एसपी अाेलीयाका अनुसार अाफुहरुले बुझाएको प्रतिवेदन अध्ययन भइनसकेकोले थप समय आवश्यक पर्ने भएकाले रास्वपाका सभापति लामिछानेलाई मंगलबार अदालतमा उपस्थित गराई म्याद थपका लागि माग गरिने जानकारी दिएका छन् ।
प्रहरीले बुझाएको प्रतिवेदन अध्ययनपश्चात सरकारी वकीलको कार्यालयले उनीहरुविरुद्ध मुद्धा चल्ने वा नचल्ने निर्णय गर्नेछ ।
सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेकाहरु विरुद्ध प्रहरीले पुस ५ गतेभित्र मुद्दा चलाईसक्नु पर्नेछ ।
प्रहरीले असाेज ६ गते पूर्व डिआईजी छविलाल जोशीलाई पक्राउ गरेको थियो भने पूर्व उप-प्रधानमन्त्री समेत रहेका
लामिछानेलाई कात्तिक २ गते पक्राउ गरेकाे थियोे ।
तर उनी पछि समातिए पनि छविलाई पक्राउ गरेकै मितिले ९० दिन भित्रमा अभियोजन गरिसक्नुपर्ने भएकाले पुस ५ गतेभित्र सरकारी वकीलको कार्यालय निश्कर्षमा पुगिसक्नुपर्नेछ ।
सरकारी वकीलको कार्यालयले पेश गरेको मुद्दाका आधारमा तथ्य हेरेर न्यायाधीसले लामिछाने, छवीलाल जोशी लगायतलाई पुर्पक्षका लागि पठाउने वा धरौटीमा रिहा गर्न आदेश दिने भएको छ ।