बैशाख २१, पोखरा ।।
पोखराको डेभिड फल्समा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरूका लागि कौसी खेतीसम्बन्धी प्राविधिक तालिम सम्पन्न गरेको छ।
“समृद्धि तथा श्रीवृद्धिका लागि दर्शन बचत सहकारी” भन्ने नारासहित सञ्चालनमा रहेको यस सहकारीले शनिबार सो तालिम सम्पन्न गरेकाे हाे ।
विषेशगरी सो कार्यक्रम मार्फत सहकारीले आफ्ना सदस्यहरूलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले प्राङ्गारिक मल, झोल मल बनाउने विधि तथा कौसी खेतीका विविध प्राविधिक पक्षबारे जानकारी गराएको थियो।
तालिमका प्रशिक्षक कान्ती पौडेल अधिकारीले घरमै उपलब्ध सामग्री प्रयोग गरेर झोल मल तयार गर्ने तरिका, कौसीमा गमला तथा ग्रो ब्याग व्यवस्थापन, कौसी खेतीमा समेत हुन सक्ने रोग र किरा नियन्त्रणका उपायबारे व्यावहारिक प्रशिक्षण दिएका थिए।
उनले तालिममा सहभागी भएकाहरुलाई घरायसी फोहोरको सदुपयोग गर्दै सानो स्थानमै अर्गानिक तरकारी उत्पादन गर्न सकिने उल्लेख गर्दै कौसी खेतीले स्वस्थ जीवनशैली र वातावरण संरक्षण दुवैमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
यस्तै सो तालिममा नेपाल ठकुरी संगम परिवार कास्कीका अध्यक्ष यामबहादुर हमालले सहकारी संस्था केवल आर्थिक कारोबारमा सिमित हुन् नहुने बताउँदै सदस्यहरूको स्वास्थ्य र आत्मनिर्भर जीवनशैली प्रवर्द्धनमा समेत सक्रिय भूमिका खेल्नुपर्ने उल्लेख गरे। जसअन्तर्गत यस सहकारीले आयोजना गरेको यो कार्यक्रम अत्यन्तै फलदायी भएको प्रतिक्रिया पनि दिए ।
उनले तालिममा सहभागी भएकाहरुलाई यहाँबाट प्राप्त गरेको सीप र ज्ञानलाई भरपुर उपयोग गर्न आग्रह पनि गरे।
त्यस्तै सहकारीका अध्यक्ष राजाराम शाहीले बढ्दो शहरीकरणसँगै खाली जमिन पनि नभएको अवस्थामा घरको कौसीमा अर्गानिक तरकारी तथा फलफूल खेती विस्तार गर्ने उद्देश्यले यस तालिमको आयोजना गरिएको बताए।
उनले आगामी दिनमा पनि सदस्य केन्द्रित यस्तै प्रकारका रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरे।
तालिममा सहभागी सदस्यहरूलाई कौसी खेती सुरु गर्न प्रोत्साहन स्वरूप संस्थाले ग्रो ब्याग, उन्नत बीउबिजन तथा बिरुवाको वृद्धिका लागि उपयोगी झोल मल निःशुल्क वितरण गरेको थियो।
अध्यक्ष शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लक्ष्मण मल्लले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
तालिम पश्चात ठकुरी महिला परिवार कास्कीकी उपाध्यक्ष सोफी खाँण, संस्थाकी निवर्तमान अध्यक्ष विष्णु कुमारी उच्चै तथा सल्लाहकार आशा सेनलगायतले तालिम अत्यन्त उपयोगी रहेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।











