भारतको महाराष्ट्र राज्यस्थित परधाडे स्टेशन नजिक माघ ९ गते भएको रेल दुर्घटनामा चार नेपाली घाइते भएका छन् भने सात जनाको ज्यान गएको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार गम्भीर घाइते एकजनाको उपचार गोदावरी अस्पताल, जलगाउँमा भइरहेको छ भने अन्य तीनजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा परेर कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी, ४० वर्षीय लछिराम पासी, अछामको मंगलसेनका ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा, अछामको कमलबजारकी ६० वर्षीया कला कामी र बाँकेको डँडुवाका ३२ वर्षीय राधेश्याम राधको मृत्यु भएको छ।
परराष्ट्र मन्त्रालयले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारलाई समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
“दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन र घाइतेहरूको उपचारमा सहयोग गर्न नयाँ दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारसँग समन्वय भइरहेको छ,” विज्ञप्तिमा उल्लेख छ।