पाेखरा ।।
प्राकृतिक सुन्दरता र भौगोलिक विविधताले भरिपूर्ण संसारकै एउटा सुन्दर देश हो नेपाल । यहाँ मनै लोभ्याउने र मानिसकाे मनलाई नै तरङ्गित गर्ने हिमश्रृङ्खलाहरू, तालतलैया, छहरा, ट्रेकिङ र हाइकिङ गर्नका लागि उत्कृष्ट पद मार्गहरु प्रसस्तै छन् । भौगोलिक बनावटमा प्राकृतिक सुन्दरताको अवलोकन गर्दै रमाउने उत्कृष्ट र लोकप्रिय पदयात्रा गन्तव्यका रुपमा समेत नेपाल विश्वभर सुपरिचित छ ।

विशेषगरी नेपालका ७७ जिल्लामध्ये कास्की उत्कृष्ट पर्यटकीय गन्तव्यहरूमध्ये एक मानिन्छ। सात हजार मिटरभन्दा अग्ला ११ वटा हिमशृङ्खलाले सुशोभित यस जिल्लामा लामो र छोटो दुबै प्रकारका उत्कृष्ट पदमार्गहरू रहेका छन् । ती पदमार्गहरू मध्ये पछिल्लो समय पर्यटकको आकर्षण बनेको छ खुमै डाँडा ।

खुमै डाँडा
माछापुच्छ्रे हिमालको छाँयामा अवस्थित खुमै पदमार्ग छोटो र पोखराबाट नजिक भएकाले छोटो समयमा नै धेरैको रोजाइमा पर्ने गरेको छ । यस पदमार्गबाट सधै हाँसिरहने कुमारी हिमाल (माछापुच्छ्रे-६९९३ मिटर) काे मनमाेहक दृश्यलाई नजिकबाट नियाल्न सकिन्छ ।

माछापुच्छ्रे-६९९३ मिटर
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने खुमाई डाँडा समुद्री सतहबाट ३ हजार २ सय ४५ मिटरको उचाईमा रहेको छ । जुन पर्यटकिय राजधानी पोखराबाट उत्तरतर्फ पर्दछ । पछिल्लो समय यस डाँडा पुग्ने पर्यटककाे संख्या दिनानुदिन बढ्दाे छ । स्थानीय बासीहरुले यसलाई ग्रेट माछापुच्छ्रे ट्रेक नाम दिएका छन् । जुन पोखराकाे हेम्जा देखि करिब १३.३ किलोमिटर सवारी यात्रा पछि सुरु हुन्छ ।

अन्नपूर्ण, माछापुच्छ्रे र मर्दी हिमालका मनमाेहक दृश्यहरूलाई कैद गरेरै थाक्दैनन् आँखा । न थाक्छ सारिपाखा, हिलेखर्क, देउराली र घाचाेक हुँदै झण्डै, सात घण्टाको हिँडाइले मन । शान्त गाेरेटाे, हरियाली वनजङ्गल, भिरपाखा र स्वच्छ अनि चिसाे हावाले स्पर्श गरेको महसूस गर्दै खुमाई पुग्न सकिन्छ ।

खुमै डाँडाको बसाइँ अझै रमणीय हुन्छ, जब कोर्चानबाट बिहानीको सूर्योदय अवलोकन गरिन्छ । खूमैबाट झण्डै दुई घण्टाको हिँडाइ पछि कोर्चान पुग्न सकिन्छ, जहाँबाट सूर्योदयको अविस्मरणीय दृश्य अवलोकन गर्न पाइन्छ।

करिब ३ हजार ७ सय मिटरको उचाइमा रहेको कोर्चानबाट देखिने सूर्योदय साँच्चै अनुपम र अद्भुत हुन्छ। सूर्यको पहिलो किरणले पूर्वी क्षितिजलाई सुन्तला, पहेँलो र गुलाबी रंगले सजाउँदा, पृथ्वीले नयाँ दिनको सुरुवात दिन्छ। जुन दृश्यले जीवनका सबै अवरोध र अँध्याराहरु भुलेर नयाँ उत्साह दिलाउँछ। कोर्चानबाट सूर्योदय मात्र होइन सूर्यास्त पनि उस्तै मनमोहक देखिन्छ ।

प्राकृतिक सुन्दरता, सांस्कृतिक अवलोकन र साहसिक यात्राको संगम हो पोखरा – खूमै -कोर्चान पद यात्रा । घोरल र हिउँचितुवा जस्ता जनावार पाइने प्राकृतिक रङ्गमञ्च कोर्चानमा डाँफे, कालिज जस्ता विश्वमा नै लोपन्मुख(फिजि बर्ड)चराहरूको संगीतमय आवाज सुन्न सकिन्छ ।

लहरै हिमशृङ्खला , हरियो वनजङ्गलमा पिपर हिम पोखरीले दृश्यलाई अझै रोमाञ्चक बनाएको छ । कोर्चा सम्मको यात्रा सजिलोदेखि मध्यम कठिन मानिन्छ, जसमा केही उकालो चढाइका खण्डहरू रहेका छन्। पोखरा देखि छोटो दूरीमा पर्ने यो गन्तव्य हिमशृङ्खलाको दृश्यावलोकन र हिउँ खेल्ने उत्कृष्ट विकल्पका रूपमा पनि लोकप्रिय बन्दै गएको छ।

सांग्रिला क्याम्प एण्ड इनका सञ्चालक लक्ष्य गुरुङका अनुसार खुमै शब्द गुरुङ भाषाको खुनामेबाट सिर्जिएको हो । जसको अर्थ “ओहो ! जाडो भयो ” भन्ने हन्छ र अर्को शब्द गुरुङ भाषाकै खोमाईबाट पनि खुमै भन्न थालिएको गुरुङले बताए । जसको अर्थ मन पर्ने/पराउने डाँडो भन्ने हुने उनले बताए ।
गण्डकी प्रदेशमा ४४ वटा लामो तथा छोटा पदमार्ग छन् । पोखरा-खुमै-काेर्चा पदमार्ग छोटो र सदावहार पदमार्गको रुपमा लिइन्छ । जुन वि.स. २०६३ सालमा ट्रेकिङ्ग एजेन्सी एशाेसियसन अफ नेपाल (टान) गण्डकीले पत्ता लगाएको हो ।