अलास्कामा १० यात्रु सवार विमान बेपत्ता, दुर्घटनाको आशंका
  • प्रमुख खबर

वासिङटन/ अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा १० यात्रु बोकेको एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ। उक्त विमान बिहीबार अपराह्न ४:०० बजे स्थानीय समयअनुसार उनालाक्लिटबाट नोमतर्फ उडेको थियो तर गन्तव्यमा नपुगी सम्पर्कविहीन भएको बताइएको छ।

अलास्का राज्य प्रहरीका अनुसार विमानमा नौ यात्रु र एक पाइलट थिए। खोजी तथा उद्धार टोली विमानको अन्तिम जानकारी पत्ता लगाउन सक्रिय रहेको छ। अधिकारीहरूले दुर्घटनाको आशंका व्यक्त गर्दै अनुसन्धान अगाडि बढाएका छन्।

यो घटना हालै अमेरिका भित्र भएका अन्य उड्डयन दुर्घटनाहरूको पछिल्लो शृङ्खला हो। जनवरी ३० मा राजधानी वासिङटनमा अमेरिकी सेनाको हेलिकोप्टर र यात्रुवाहक विमान ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो। त्यस्तै, फिलाडेल्फियामा भएको मेडिकल विमान दुर्घटनामा सातजनाले ज्यान गुमाएका थिए भने १९ जना घाइते भएका थिए।

अलास्कामा हराएको विमानको खोजी कार्य तीव्र पारिएको छ, तर हालसम्म कुनै ठोस जानकारी प्राप्त भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्