पोखरा/ बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरमा यात्रु बोकेको इको भ्यान दुर्घटनाग्रस्त भएको छ।
बा ६ च ४९४४ नम्बरको भ्यान सुकेबगरबाट नारच्याङतर्फ जाँदै गर्दा सडकबाट चिप्लिएर करिब १५० मिटर तल कालीगण्डकी नदी किनारमा खसेको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ।
दुर्घटनामा अन्नपूर्ण–४ घरापकी ४० वर्षीय चालक सुनदेवी गौचन (सरिता)को घटनास्थलमै मृत्यु भएको छ। साथै, रुपा पुन, नमिता चोचाङ्गी, र विष्णुकुमारी बुढाथोकी घाइते भएका छन्। उनीहरूलाई उद्दार गरी थप उपचारका लागि पोखरा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार, भ्यानमा शिव मन्दिर दर्शन गर्न गएका यात्रु सवार थिए। दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ।